रतुवामाई नगरपालिकालाई लक्ष्मी लघुवित्त संस्थाको आर्थिक सहयोग


एलएन गच्छदार – सुन्दरहरैचा, २६ जेठ । मोरङको रतुवामाई नगरपालिकालाई कोरोना राहत विपत् तथा क्वारेनटाइन व्यवस्थापनको लागि लक्ष्मी लघुवित्त संस्थाले रु.दस हजार सहयोग गरेको छ । लक्ष्मी लघुवित्त बैङ्कको सहायक कम्पनीको रूपमा स्थापित लक्ष्मी लघुवित्त संस्था लिमिटेड शाखा कार्यालय दाम्राभिट्टाले सो रकम सहयोग गरेका हुन ।

नगरको कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईको उपस्थितिमा वडा नं ८ का वडाध्यक्ष नन्द प्रसाद चौलागाईलाई शाखा प्रबन्धक हेम नारायण माझीले चेक हस्तान्तरण गरेका छन् । यस शाखा मार्फत सामाजिक उत्तरदायित्व बहन गर्दै कोरोना विरुद्धको लडाइमा ऐक्यबद्धता जनाउन पाएकोमा खुसी लागेको माझीले बताए ।

संस्थाले सातवटै प्रदेशलाई दुई दुई लाखका दरले रु.१४ लाख सहयोग गरिसकेको र ७२ वटा शाखा कार्यालयमार्फत ७ लाख गरी जम्मा २१ लाख सहयोग गरेको छ । साथै आफ्ना ग्राहक सदस्यहरूलाई कोरोना संक्रमणबाट सुरक्षित रहन आग्रह गर्दै आगामी असार मसान्त सम्मका लागि कर्जाको ब्याजदर घटेको जानकारी दिँदै समयमै तिर्नुपर्ने रकम बुझाई व्याज सहुलियत लिन शाखा कार्यालय दाम्राभिट्टाले अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्