‘निसर्ग’ चक्रवातको प्रभावले आज देशभर वर्षा हुने


काठमाडौँ, २३ जेठ । नेपालमा स्थानीय वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवातको प्रभावले आज (शुक्रवार) काठमाडौँ उपत्यकालगायत देशैभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश–५ को अधिकांश भागमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहने जनाइएको छ । प्रदेश ५, सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै प्रदेश १,२, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरूमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन हुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम १७ दशमलव ६ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियसबिच रहने छ । सूर्योदय आज बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्