बेलबारी, २१ जेठ । बेलबारीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै विरोध सभा गरेका छन् । मङगलबार बेलबारी वाड नं. ३ स्थित पेट्रोल पम्प अगाडी विरोध सभा गरेका हुन ।
अखिल नेपाल राष्ट्रिय युनियन छैटौँ, बेलबारी नगर समितिको आयोजनामा भएको एमसीसी विरुद्ध कार्यक्रममा नेपाली राष्ट्रिय झन्डा र खारेजीको मागको नारा सहित कोणसभा भएको थियो । नेपालको लागि एमसीसी घातक भएकोले खारेजी गर्नु पर्ने युनियनका बेलबारी नगरका अध्यक्ष सूर्य रोक्का क्षेत्रीले बताएका छन् ।
क्षेत्री भन्छन्, ‘सरकारले एमसीसीलाई विकास परियोजनाको रूपमा पेस गरेको छ तर यो विकास परियोजना हैन । अमेरिकन दूतावास प्रमुख राजदूतले एमसीसी इन्डो प्यासिफिक रणनीति एउटा अङ्ग हो भनेका छन् । इन्डो प्यासिफिक रणनीति अमेरिकाको एउटा सैन मिसन हो । तसर्थ यसले नेपालको विकासको नाममा हैन मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने छ ।’
संसद्मा एमसीसी पास गराउने र विरोध गर्ने दुवैबाट आवाज उठिरहेको छ । वाशिङ्गटनमा वि.सं २०७४ सालको भदौ २९ गते एमसीसी सम्झौतामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए । यसअन्तर्गत अमेरिकाले लागु भएको पाँच वर्षमा झन्डै ६० अर्व रुपैयाँ नेपालको पूर्वाधार विकासको लागि अनुदान दिने उल्लेख छ ।
सोही समयभित्र नेपाल सरकारले चाहिँ ती पूर्वाधार विकासमा आफ्नोतर्फबाट झन्डै १५ अर्व रुपैयाँ खर्च गर्नुपर्नेछ । अधिकांश अनुदान अर्थात् झन्डै ४५ अर्व रुपैयाँ विद्युत्को अन्तर्देशीय प्रसारण लाइन निर्माणमा खर्च हुनेछ । बाँकी रकम सडक मर्मत र अन्य विषयमा खर्च हुनेछ ।