उत्तम पोख्रेल – बेलबारी, २१ जेठ । मोरङको बेलबारी–२ मा जनयुद्ध संग्राहलयको शिलान्यास गरिएको छ । जनयुद्ध स्मृति प्रतिष्ठान नेपाल बनाउन लागेको संग्राहलयको मङ्गलवार शिलान्यास गरिएको छ । संग्राहलय निर्माणका लागि बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले आठ बिघा जमिन दान गरेपछि उक्त जग्गामा संग्राहलय निर्माण कार्य सुरु भएको हो ।
संग्राहलयमा कम्युनिस्ट आन्दोलन र जनयुद्धको इतिहास झल्कने गरी पार्क निर्माण गरिने जनयुद्ध प्रतिष्ठान नेपालका अध्यक्ष सावित्री कुमार काफलले बताए । संग्राहलयमा नेपालमा विभिन्न समयमा भएका जनयुद्धसँग सम्बन्धित सामग्रीहरू राखिने छन् ।
गरिब असहायहरूलाई रोजगारी तथा प्राविधिक शिक्षामा समेत अगाडि बढाउने प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । पार्कसहितको पर्यटकीय क्षेत्रको समेत विकास गरिने उनले बताए ।
सङ्ग्रहालयमा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड, काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, पुष्पलाल, मदन भण्डारी तथा विभिन्न समयमा सहिद भएकाहरूको सालिक समेत राखिने जनयुद्ध प्रतिष्ठान नेपालले जनाएको छ । संग्राहलय सँगै पार्क समेत निर्माण गरिने जनाइएको छ ।
संग्राहलयको शिलान्यास प्रतिष्ठानका अध्यक्ष काफले, नेकपा मोरङका इन्चार्ज घनेन्द्र बस्नेत र मेयर सुवेदीले सयुक्तरुपमा गरेका थिए । केही महिना अघि प्रतिष्ठानका टोलीले नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी गराएका थिए ।