तत्काल सुकुम्वासीलाई धनिपुर्जा दिन वैद्य माओवादीको माग


मोरङ । नेपाल कमुनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई बसोबासको आधारमा जग्गा उपलब्ध गराउन लगायतको माग राख्दै मोरङको पथरी शनिश्चरे नगरपालिकालाई ज्ञापन प बुझाएको छ ।

आज (जेठ १५) अपराह्न नगरप्रमुख दिलीपकुमार राईलाई बुझाएको पत्रमा सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा र पुर्जा दिन समय लाग्ने भए तत्काल बसोबासको प्रमाण पत्र दिन माग गरिएको छ ।

मोहन वैद्य नेतृत्वको सो पार्टीले लकडाउन प्रभावित मजदुरलाई निरन्तर राहत वितरण, भारत लगायतबाट आएका व्यक्तिहरूको कोरोना भाइरसको स्वाब परीक्षणको साथै नगरमा आइसोलेसन निर्माण गर्न माग गरेका छन् ।

नगरपालिकाले कोरोना भाइरस जस्तो विश्व व्यापी महामारीमा पनि राष्ट्रिय पार्टीको नाममा सबैलाई नसमेटेर एकता कायम गर्न नसकेको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

पार्टीको नगर इन्चार्ज सुरेन्द्र चापागाईँ, सेक्रेटरी रत्न पराजुलीको नेतृत्वमा आएको टोलीले विकास निर्माणको गुणस्तरमा समेत आशंका भएकोले अनुगमनलाई व्यवस्थित गर्न सुझाव दिएको छ ।

नेपालको नयाँ नक्सा जारी गर्ने काम सकारात्मक भएको उल्लेख गर्दै सुस्ता, महेशपुर लगायतको अतिक्रमित भूमीको स्वामित्व फिर्ता लिन प्रभावकारी पहल चाल्न सङ्घीय सरकारलाई वैद्य माओवादीको सुझाव छ ।

मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) नेपालको हितमा नहुने भएकोले राष्ट्र घाती सो कदम खारेज गर्न माग गर्दै आएको सो पार्टीका केन्द्रीय सदस्य सीताराम बुढाथोकीले बताए । ज्ञापन पत्र बुझाउन करिब १५ जनाको टोली नगरपालिका पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्