पत्रकार ‘इच्छुक’को स्मृति दिवसमा जर्सी वितरण


मोरङ, १४ जेठ। पत्रकार कृष्ण सेन ‘इच्छुक’को १८ स्मृति दिवसको अवसरमा प्रेस सङ्गठन मोरङले सङ्गठनमा आवद्द सदस्यहरूलाई प्रेस उल्लेख भएको जर्सी वितरण गरेको छ ।

तत्कालीन माओवादी जनयुद्धको बेला पत्रकारिता तथा साहित्य सिर्जनामा क्रियाशील इच्छुक २०५९ जेठ १३ गते राज्य पक्षबाट मारिएका थिए । जनादेश साप्ताहिक र जनदिशा दैनिक पत्रिकाको सम्पादक रहेका उनी जनयुद्धको घोषित सहिद हुन ।

पत्रकारिता र साहित्य सम्बन्धी कलम चलाउने इच्छुकको १८ औँ स्मृति दिवसको अवसरमा प्रेस सङ्गठन मोरङले जिल्लामा सय वटा जर्सी वितरण गरेको जिल्ला संयोजक सुदिप कोइरालाले बताए । हिजो विराटनगर र आज पूर्वी मोरङको लागि पथरीमा भेटघाटसँगै प्रेस लेखिएको जर्सी वितरण भएको हो ।

पथरीमा प्रेस सङ्गठनको केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, प्रदेश १ सदस्य मोहन भट्टराई, जिल्ला सदस्य दिनेश सुब्बा, एलिना दियाली लगायतको उपस्थिति रहेको थियो ।

कलमको माध्यमबाट राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका इच्छुक तत्कालीन पत्रकार महासंघकोे केन्द्रीय पार्षद र दक्षिण एसियाली पत्रकार सङ्घ र प्रगतिशील लेखक सङ्घको सदस्य थिए ।

बाउ भारतीय सेना भएकोले २०१३ कार्तिक ३ गते भारतको देहरादुनमा जन्मिएका इच्छुक दाङ, काठमाडौँ, सिराहा तथा राजविराज गरी नौ वर्षसम्म जेल बसेका थिए ।

प्रेस सेनानी पुरस्कार (२०६५) बाट सम्मानित इच्छुक, साहित्य सन्ध्या पुरस्कार (२०५७), पारिजात सृजनशील साहित्य पुरस्कार (२०५९), कृष्णमणि साहित्य पुरस्कार (२०५९) प्राप्त गरेका थिए ।

नेपाली समाज परिवर्तनका लागि कलमको माध्यमबाट बलिदानपूर्ण सङ्घर्षमा लागेर सहिद भएका कृष्ण सेन इच्छुकको पार्टी एकता हुनु पूर्व प्रेस सेन्टर र एकतापछि प्रेस सङ्गठन नेपालले प्रत्येक जेठ १३ मा स्मृति दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्