सुन्दरहरैंचामा करोडौँको एक औषधि कारखाना प्रयोगविहीन : सञ्चालनमा ल्याउन स्थानीयको माग


केशु विरही, सुन्दरहरैंचा । राज्यले बर्षेनी विदेशबाट औषधि खरिदमा खरबौँ बजेट खर्च गर्छ तर देशमै निर्माण भएर सञ्चालन हुन नसकेका औषधि कारखानाहरूलाई उठाउनेतर्फ भने ध्यान दिएको देखिँदैन ।

राज्यले देशमा सञ्चालन भएका उद्योगहरूलाई संरक्षण गर्ने नीति त ल्याएको छ तर ती नीतिहरूको कार्यान्वयन भए नभएको बारेमा केही लेखाजोखा भने राखेको देखिँदैन । राज्यको यही अदुर्दर्सी नीतिका कारण करोडौँ लगानीमा निर्माण भएका उद्योगहरू पुनः सञ्चालन हुनै सक्दैनन् ।

यस्तै चपेटामा मोरङको सुन्दरहरैंचामा रहेको एउटा औषधि कारखाना पनि परिरहेको छ । सुन्दरहरैंचा नगरपालिका वार्ड –११ कर्जुनामा २० वर्ष अघि निर्माण भएको सुवर्ण फार्मासिटिकल औषधि कारखाना आजसम्म पनि सञ्चालन हुन नसक्दा राज्य महँगो दाम तिरेर विदेशी कम्पनीसँग औषधि खरिद गर्दा बर्से्नि पुजी पलाएन भइरहेको छ ।

पाँच विगाहा क्षेत्रफलमा निर्माण भएको, ३ वटा ब्लकमा फैलिएको यो औषधि कारखानामा अढाईसयजति कोठा रहेका छन् । तर संरक्षण तथा संवर्धनमा ध्यान नदिँदा ती अहिले सञ्चालन नहुँदै जीर्ण बन्दै गइरहेका छन् । हाल यो कम्पनी सुवर्ण फार्मासिटिकल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको छ ।

भारतीय सरकारी औषधि कम्पनी (एनटीसी)को ३४ करोड र सरोकारवाला (सुवर्ण फर्मा्िसटिकल र बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान) को ११ करोड गरी कुल ४५ करोडको लगानीमा निर्माण कार्य सम्पन्नताको अवस्थामा पुगे पनि यसको निर्माण जिम्मा पाएको कन्स्ट्रक्सन कम्पनी तुण्डीलाई हटाए पछि निर्माण कार्य अपुरो रहेको बताइन्छ ।

तुण्डीले आफ्नो सम्झौता बमोजिमको रकम नपाए पछि अदालतमा मुद्दा हालेको, मुद्दा पनि तुण्डीकै पक्षमा आए पछि मोटो रकम तिर्नु परेको बताइन्छ । २०५५ सालमा शेखर कोईरालाद्वार शिलान्यास गरी कार्य सम्पन्नताको चरणमा पुगेको यो कारखाना हाल भुतबङ्गालामा परिणत भएको छ । कारखानाको रेखदेखका लागि सुरुमा चारजना सुरक्षा गार्ड राखिए पनि हाल त्यहाँ एक जनाले मात्र हेरचाह गर्दै आएका छन् ।

यति ठुलो क्षेत्रफलमा फैलिएको कारखाना छ, एक्लो मानिसले हेरचाह गर्नु परेको छ । केछ कसो भनेर कसैले सोधखोज नगरेको, बाहिरबाट आउने उत्सृङ्खल व्यक्तिहरूले दुःख दिने गरेको कारखानाको रेखदेखका लागि बसेका स्थानीय कृष्णप्रसाद न्यौपाने बताउँछन् ।

आफ्नै गाउँमा यति ठुलो कारखाना बनेपछि स्थानीयमा पनि ठुलो उत्साह पलाएको थियो । कारखाना सञ्चालन भएपछि व्यापार व्यवसाय राम्रो हुने देखेर कारखानाकै आडमा जमिन लिएका सुन्दरहरैचा १२ का उद्धव सापकोटा अहिले दुखी छन् । उनी स्थानीय सरकारले यो कारखाना सञ्चालनमा ताकेता गर्नु पर्ने बताउँछन् ।

आफू तीस वर्षदेखि यो क्षेत्रमा बसोबास गर्दै आएको बताउने सुन्दरहरैंचा–११ का गणेशप्रसाद दाहाल गाउँमै उद्योग सञ्चालन भएमा त्यसको फाइदा स्थानीयले लिने हुनाले यो कारखाना चाँडै सञ्चालनमा आइदिए हुन्थ्यो भन्ने ठान्दछन् ।

स्थानीयले यसको सञ्चालनमा राज्यले ध्यान दिनु पर्ने बताइरहँदा यता प्रदेश सांसद राजकुमार ओझा भने यसको सञ्चालनमा आफू लागिरहेको बताउँछन् । यसभन्दा अघिका भिसीलाई बोलाएर कारखाना सञ्चालनमा लाग्न निर्देशन दिएसकेको उनी बताउँछन् ।

करोडौँको लगानी भएका यस्ता महत्त्वपूर्ण उद्योगहरू यति लामो समयदेखि सञ्चालन हुन नसक्नु कति लाजमर्दो विषय हो । राज्यको यसतर्फ ध्यान जानू आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्