सुरुवात दुई बोटको, अहिले वार्षिक आय ४० लाखको : कागती किसान ढालुरामको कथा


बुढिगंगा, ११ जेठ । मोरङको बुढिगंगा गाउँपालिकाका एक किसानले दुई वटा कागतीको बिरुवाले सुरुवात गरेको कागती खेतीबाट अहिले लाखै आम्दानी गरिरहेका छन् ।

बुढिगंगाको वाड नं. ६ का ढालुराम माझीले दुईवटा कागतीको बिरुवाबाट सुरु गरेर अहिले ५ बिघामा खेती गरिरहेका छन् । उनका अनुसार वार्षिक ४० लाखसम्म आय रहेको छ ।

लाखै नेपाली युवाहरू वैदेशिक मोहमा परिरहेको बेला ६१ वर्षका ढालुराम माझी भने स्वदेशमा आफ्नै पौरखमा रमाइ रहेका छन् । छोरालाई पनि पढाएर कृषि पेसामानै आबद्ध गराएका छन् । उनी भन्छन्, ‘मैले पढ्न पाइन त्यसैले विज्ञ किसान तयार पार्नु पर्छ भनेर छोरालाई कृषि क्षेत्रको शिक्षानै पढाएको छु ।’

अहिले उनको छोराले पनि वि.यस.सी एग्रिकल्चर सकेर सुनसरीमा मेवा खेती गरिरहेका छन् । माझीले विज्ञ किसान बनाउने सपना देखेर पठाएको छोराको सम्झना गर्दै नेपालका युवाहरूलाई पनि विदेशमा हैन आफ्नै देशमा केही गर्न सुझाव दिन्छन् ।

माझी भन्छन्, “दुईवटा बिरुवाबाट सुरु गर्दा ५ बिघा सम्म कागती खेती फैलाउन सक्छु भन्ने केही सोचेको थिएन । तर गर्दा हुँदो रहेछ । कृषिमा धेरै सम्भावना छ ।” माझी मात्र ५ कक्षा सम्म पढेका हुन । तर पनि उनको लगाव, मेहनतले कृषिमा असम्भव देख्नेहरूको लागि एक उदाहरण बनेको छन् ।

उनको टिकलीगाछी फलफूल कृषक फर्मको नाममा रहेको कागती खेतीमा १२ जना भन्दा बढी रोजगार दिएका छन् । लकडाउनले गर्दा अहिले भने काम गर्ने ९ जना रहेको उनले बताए । प्रति व्यक्ति मासिक १५ हजार सम्म उनले काम गर्नेलाई दिने गरेको माझीले बताए ।

कागती जतिनै उत्पादन गरे पनि माग अनुसार पुराउन नसकिने माझी बताउँछन् । स्थानीय क्षेत्रमा नै कागतीको माग धेरै भएकोले अन्य ठाउँ पुराउनै गारो हुने गरेको उनले जनाए । धेरै माग हुने र उत्पादन कमी भएको कारण कागती खेतीबाट जो कोहीले काम गर्न सके मज्जाले घरमै बसेर लाखै आय गर्न सकिने माझी बताऊ छन् ।

माझीले ४ प्रकारको कागती विक्री गर्नुको साथै कागतीको अचार उत्पादन गरी रहेका छन् । कागतीको बिरुवा पनि बेच्ने गरेको उनले बताए । उनलाई अहिले जोहोकीले नामबाट भन्दा कागती किसानको परिचयबाट परिचित छन् । उनको नामबाट भन्दा पनि कागती किसानको परिचयबाटै परिचित हुँदा सुखी लाग्ने गरेको माझी बताउँछन् ।

२०७० सालमा ५१ वर्षको उमेरमा उनको श्रीमतीको निधन भए पछि उनको अहिलेको सफलता देख्न नपाएकोमा भने केही गुनासो रहेको छ । तर ४ जना छोरीको विवाह गरिसकेको र छोराले पढेर वैदेशिक मोह भन्दा कृषि पेसामा आबद्ध हुँदै मेवा खेतीनै गरिरहेको हुँदा उनी धेरै खुसी छन् । उनको कागती खेतीले स्वदेशमा बसेर नै कृषि क्षेत्रबाट पनि मज्जाले आम्दानी गर्न सकिन्छ भन्ने राम्रो उदाहरण दिएको छन् ।

प्रतिक्रिया दिनुहोस्