काठमाडौं, ७ जेठ । स्थानीय वायु र बंगालको खाडीमा बनेको ‘अम्पुन चक्रवात’ को अप्रत्यक्ष प्रभाव नेपालको मौसमी प्रणालीमा पनि परेको छ ।
चक्रवातको अप्रत्यक्ष प्रभावले मौसम बदलीसँगै पूर्वी भू–भागका धेरै स्थानहरु, मध्य भू–भागका केही स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
हिमाली भू–भागहरुमा हिमपातको समेत सम्भावना रहेका कारण उच्च हिमाली भेगमा बसोबास गर्ने र हिमाली भेगको यात्रमा रहेकाहरुलाई सतर्क रहन मौसमविदले अनुरोध गरेका छन् ।
अम्पुन चक्रवातको असरका कारण हुने बर्षाका कारण खोलानालाहरुमा जलप्रवाहमा समेत बढ्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
हाल देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश का सबै भू–भागलगायत प्रदेश नं ५ को केहि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ भने बाँकी सबै भू–भागमा सामान्य बदली रही थोरै स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।
बुधबार देशको पूर्वी भू–भागहरुमा पूर्ण बदली तथा मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहने छ । पूर्वी भू–भागका धेरै स्थानहरु, मध्य भू–भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।
पूर्वी तथा मध्य उच्च हिमाली भू–भागका केही स्थानहरुमा साथै पश्चिमी उच्च हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्ययम हिमपातको समेत सम्भावना रहेको छ । बिहीबार पनि देशको मध्य तथा पूर्वी भू–भागहरुमा पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ ।
मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरु र पश्चिमी भू–भागका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार देशको पूर्वी भू-भागहरुलगायत मध्य र पश्चिमी पहाडी भू–भागमा सामान्यतया बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहने छ । पूर्वी भू–भागका केहि स्थानहरु साथै मध्य र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।
महाशाखााका मौसमविद् वरुण पौडेलका अनुसार यसले विशेष गरी पूर्वी क्षेत्रमा बढी प्रभाव पारिरहेको छ । साथै काठमाडौंलगायत मध्य क्षेत्रमा पनि यसको बादल आइरहेको छ । ‘विशेष गरी पूर्वी क्षेत्रमा आज गड्याङगुडुङ, चट्याङ र हुरीबतासहित मध्यमसम्म वर्षा हुने सम्भवना छ,’ मौसमविद् पौडेलले भने, ‘काठमाडौंलगायत मध्य क्षेत्रमा पनि मौसम बदली तथा वर्षा हुने देखिएको छ ।’
उनका अनुसार नेपालमा अम्पुनको मुख्य प्रणाली नेपाल प्रवेश गरेको होइन । मुख्य प्रणाली प्रवेश गथ्थ्र्यो भने धेरै ठूलो क्षति हुन सक्थ्यो । ‘यसको अप्रत्यक्ष प्रभाव अर्थात् चक्रवातको बाहिरी घेरोका बादल मात्र नेपालमा प्रवेश गरेको हो,’ उनले भने, ‘यसैको प्रभावले अब तीन दिनसम्म देशका पूर्वी र मध्य क्षेत्रमा मौसम बदली भई वर्षा र हिमपात हुने सम्भावना देखिएको हो ।
मौसमविद् पौडेलका अनुसार बंगालको खाडीमा रहेको चक्रवात आज दिउँसोतिर पश्चिम बंगालको तटीय क्षेत्र (पश्चिम बंगाल–बंगलादेश कोस्ट) मा प्रवेश (ल्याण्डफल) गर्दैछ । ‘त्यसपछि यसले कुन दिशा र कस्तो रूप लिन्छ, त्यसले नेपालमा पर्ने थप प्रभाव निर्धारण गर्छ, त्यो हामी अपडेट गर्नेछौं,’ मौसमविद् पौडेलले भने ।