ह्विलचेयरमा बस्ने पदम श्रेष्ठ सिङ्गो परिवारकै सहारा


उत्तम पोखरेल – बेलबारी, ७ जेठ । बेलबारी नगरपालिका–३ का ५५ वर्षीय पदम श्रेष्ठको घरमा भने अपांग भएर पनि आफ्नो पुरै परिवारका लागि सहारा बनेका छन् ।

अपांगता भएका मानिसलाई समाजले अपांग भनेर हेला गर्ने गर्छ । कति ठाउँमा त उनीहरूलाई परिवारको बोझको रूपमा पनि हेरिन्छ । तर मोरङको बेलबारी नगरपालिका–१ का ५४ वर्षीय पदम श्रेष्ठ भने अपांग भएर पनि आफ्नो पुरै परिवारका लागि सहारा बनेका छन् । श्रेष्ठ घरमै विभिन्न सामान बनाउँछन् । उनकै आम्दानीले घरको खर्च चलेको छ ।

लामो समयसम्म मोरङको फडानीमा बसोबास गरेर पछिल्लो समय बेलबारीमा बसोबास गर्दै आएका श्रेष्ठ विगत १४ वर्षदेखि ह्विलचेयरको सहारा लिनु परे पनि परिवारको पुरै सहारा बन्दै आएका छन् । त्यतिखेरको अवस्थालाई हेर्दा आज यस्तो अवस्थामा आइएला भन्ने न उनलाई न उनका परिवारलाई नै लागेको थियो । झन् डाक्टरले नै उपचार सम्भव छैन भनेपछि उनकी श्रीमतीलाई साह्रै नरमाइलो लागेको थियो । उनको होसहवास नै उडेको थियो ।

वि.सं. २०६२ सालमा उनी अहिले बस्दै आएको घर बनाउने क्रममा दुर्घटनामा परेका थिए । यही दुर्घटनाबाट उनी अपांग बन्न पुगे । उक्त दुर्घटनामा उनको मेरुदण्डमा चोट लागेको र पछि मेरुदण्डले काम नै नगर्दा आफूले यस्तो जीवन जिउनु परेको उनले दुःखेसो पोखे । दुर्घटनामा परेको तीन वर्षसम्म त उनलाई सुतेको स्थानबाट फर्किनसम्म पनि साथीको सहायता लिनु परेको थियो । त्यस क्रममा श्रीमती सम्झनाको ठुलो योगदान रहेको उनी बताउँछन् । “श्रीमतीले साथ नदिएको भए त म त्यतिखेरै मर्ने थिएँ,” उनी भन्छन्, “आफन्तको मायाले पनि कहिलेकाहीँ बाँच्ने साहस मिल्दो रहेछ ।”

उनले तयार पारेका रोटीमेकर, विभिन्न साइजका ऐनाहरू, हातेपंखालगायत घरायसी सामग्रीले उनको घर अघिको भाग प्रदर्शनी स्थलजस्तै बन्न पुग्यो । आफूले तयार पारेका सामग्रीहरूलाई उनले फेसबुकमा पनि हाल्ने गरेका छन् । त्यही फेसबुकमा देखेर कसै–कसैले सामग्री खरिद गरेर लग्ने गरेको उनले बताए ।

“कसैको अघि हात पसार्न चाहँदिन । मलाई कसैले केही देयोस् जस्तो पनि लाग्दैन र त्यो कहिल्यै महसुस पनि गरिन,” उनले भने, “बजारको पनि अभाव छैन ।” पदमले तालिम पनि लिएका छैनन् । आफ्नै अभ्यास र मेहनतले विभिन्न सामग्री बनाउँदै आएका छन् उनी । उनी आफैले युट्युबमा हेरेर नयाँ–नयाँ सामग्री बनाउन सिकेको बताउँछन् । श्रीमानको आम्दानीबाट परिवारको गुजारा चल्दै गरेको उनकी श्रीमती सम्झनाले बताइन् । सम्झना घरका अन्य काम गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्