कोरोनाले मृत्यु भएको युवकको गाउँ नरैनापुर, कोरोना इपिसेन्टर बन्दै : ५६ संक्रमित भेटिए


बाँके, ५ जेठ । कोरोना संक्रमणले मृत्यु भएको दोस्रो व्यक्ति २५ वर्षीय युवकको गाउँपालिका अहिले इपिसेन्टर  सेन्टर बनेको छ । आज मात्रै ५६ कोरोना संक्रमित भेटिएको छ । युवकको मृत्यु भएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको इपिसेन्टर बनेको हो ।

यसअघि नै नरैनापुरमा एक जनाको ज्यान जाने गरी नौ जनामा सङ्क्रमण देखिएको थियो । यससँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या आजसम्म ८१ पुगेको छ ।
यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा २४ र वडा नं ७ मा एक जना गरी २५ जनामा सङ्क्रमण देखिएको थियो । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा आज सङ्क्रमित देखिएका अधिकांश नागरिक भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । आइतबार मात्रै नरैनापुर ५ का एक २५ वर्षीय युवकको कोरोनाबाटै निधन भएको थियो ।

श्रेष्ठका अनुसार आज सङ्क्रमण फेला परेका सबै यसअघि भेटिएका आठ सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति हुन् । आठ सङ्क्रमितको सम्पर्कमा आएका आधारमा दुई दिनअघि शनिवार नरैनापुरका विभिन्न वडामा रहेका क्वारेन्टिनबाट सङ्कलन गरिएको स्वाब नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा परीक्षण गर्दा ४७ जनामा रिपोर्ट पोजेटिभ आएको हो ।

नरैनापुर–२ को आदर्श मावि, लक्ष्मणपुरबाट ८७, वडा नं. ५ को दीपेन्द्र प्रावि, भोजभगवानपुरबाट ३९, वडा नं ५ कै नेराप्रावि, हुलासपुरबाट ७२ र वडा नं ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जना गरी २६३ जनाको स्वाब सङ्कलन गरिएको थियो । आइतबार थप ११ जनाको स्वाब सङ्कलन गरिएको श्रेष्ठले बताए । नरैनापुरबाट सङ्कलित २७४ मध्ये अझै केही स्वाबको परीक्षण बाँकी रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए ।

‘पूरै स्वाबको रिपोर्ट आइसकेको होइन, म बाहिर फिल्डमै भएकोले एक्जाक्ट मलाई पनि थाहा भएन’, उनले भने, ‘सङ्क्रमितलाई व्यवस्थापनको लागि छलफल भइरहेको छ । ठूलो संख्यामा सङ्क्रमित भेटिएपछि नरैनापुरमै आइसोलेशन वार्ड तयार गर्ने कि अन्यत्र व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल भइरहेको उनको भनाइ छ । यसअघि सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा राखिएको छ भने आठ जनालाई दाङ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्