काठमाडौँ, १ जेठ । कोरोना भाइरस शायद कहिल्यै उन्मुलन हुन नसक्ने विश्व स्वास्थ्य सङ्गठन अर्थात् डब्ल्यूएचओले सबैलाई चेतावनी दिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका आपत्कालीन निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल कन्फरेन्सको क्रममा भविष्यमा पनि कोरोना भाइरस उन्मुलन हुन नसक्ने अथवा हामीबिच रहिरहने सम्भावना व्यक्त गरेका छन् । उनले एचआइभीको उदाहरण दिँदै यो भाइरस पनि हालसम्म उन्मुलन हुन नसकेको बताए ।
माइकल रयानले भ्याक्सिन बिना सर्वसाधारणलाई यो रोगका लागि प्रतिरोधी क्षमताको उपयुक्त स्तर हासिल गर्न वर्षौँ लाग्न सक्ने बताएका छन् ।
कोभिड–१९ को भ्याक्सिन तयार गर्न अनेकौँ कोसिस भइरहेका छन् । मोटामोटी रूपमा कोभिड–१९ का लागि कम्तीमा सय भ्याक्सिन बनाउने कोसिस भइरहेको छ । तर संसारभरिका विज्ञले यस्ता कुनै भ्याक्सिन तयार हुनै नसक्ने बताएका छन् ।
यद्यपि, संसारका विभिन्न देशले लकडाउन खुकुलो पार्न थालिसकेका छन् । यसमाथि विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एडहनोम गिब्रयेससले यसका कारण संक्रमणको गति बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन् ।
गिब्रेयासले भने, ‘थुप्रै देश हालको लकडाउनको स्थितिबाट बाहिर निस्कनका लागि विभिन्न तरिका अपनाइरहेका छन् । तर विश्व स्वास्थ्य सङ्गठनले संसारभरिका सबै देशलाई अलर्ट रहन सल्लाह दिइरहेको छ । प्रत्येक देशलाई अहिले पनि सबैभन्दा उच्चतम स्तरमा अलर्ट रहन आवश्यक छ ।’
लकडाउन खुकुलो पारिएको बारे रयाले आफ्नो पत्रकार सम्मेलनमा भने, ‘जुन देशले आफूलाई खुकुलो पारिरहेको छ त्यहाँ ‘जादुमय सोच’ ले काम गरिरहेको छ । रयानले जनजीवन सामान्य हुन निकै धेरै समय लाग्ने उनले बताए ।
उनले भने, ‘हामीले वास्तविकताका साथ सोच्नुपर्ने हुन्छ, यो महत्त्वपूर्ण पनि छ । मेरो विचारमा कसैले पनि यो भाइरस कहिलेसम्म रहन्छ भन्ने बारे बताउन सक्दैन । यसका लागि कुनै वचन दिन सकिँदैन न नै कुनै मिति तोक्न सकिन्छ ।’
माइकल रयानले यो भाइरसको निदान खोज्नु एउटा लामो प्रक्रिया भएको र यो कहिले पनि पूरा नहुन पनि सक्ने बताएका छन् । रयानका अनुसार यदि कोभिड–१९ को भ्याक्सिन तयार भइहाले पनि त्यो सुरुमा परीक्षण गरिनुपर्छ र कोरोना भाइरसको नियन्त्रणका लागि निकै ठुलो प्रयासको आवश्यकता पर्छ ।
यस्तै विश्व स्वास्थ्य सङ्गठनको महामारी रोग विशेषज्ञ मारिया वेन केरखोवेले पनि भनिन्, ‘हामीले यो माइन्डसेट बनाउनु पर्छ कि यो महामारीबाट बाहिर निस्कनका लागि समय लाग्नेछ ।’