लिपुलेक अतिक्रमणप्रति आदिवासी पत्रकार महासङ्घको आपत्ति


मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) १ नम्बर प्रदेश समितिले भारतले लिपुलेक हुँदै एकलौटी बाटो निर्माण गरेकोमा गम्भीर आपती जनाएको छ ।

फोनिज १ नम्बर प्रदेश समितिका अध्यक्ष अर्जुन जम्नेली राईको सभापतित्वमा बसेको बैठकले भारतले हेपाहा प्रवृत्ति दोहोर्‍याउँदै एकलौटी रूपमा निर्माण गरेको बाटो उद्घाटन गरेको प्रति विरोध जनाउँदै प्रभावकारी रूपमा कूटनीतिक पहल थाल्न नेपाल सरकारलाई आग्रह गरेको छ । सीमा सुरक्षा र राष्ट्रियता सम्बन्धी निरन्तर जनचेतना फैलाउनु पर्ने बैठकले प्रस्ताव पारित भएको छ ।

कोरोना नियन्त्रणको लागि भएको लकडाउनको कारण श्रमजीवी पत्रकारलाई निष्कासन तथा तलब नकटाउन मिडिया हाउसहरूलाई आग्रह गरेको छ । समाचार लेखेर परिवार पाल्दै आएका स्टिन्जर (न्युज बेस) पत्रकारहरूका लागि प्रदेश र स्थानीय सरकारले विशेष कार्यक्रम बनाएर रोजगारीको व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

पत्रिका लगायतलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको रकम तत्काल निकासा गर्न र लकडाउनको समयको विज्ञापन बापतको पैसा नरोक्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय भएको फोनिज प्रदेश समितिका अध्यक्ष अर्जुन जम्नेली राईले बताए । फोनिज प्रदेश समितिले यस अघिदेखि नै अनलाइन मिडियाहरूलाई वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन उपलब्ध गराइनु पर्ने माग गर्दै आएको छ ।

कोरोना बारे रिपोर्टिङमा निस्किने

पत्रकार हरूलाई परिचय पत्रको आधारमा हिँड्न दिनुको साथै सुरक्षा सामाग्री व्यवस्थापन गर्न फोनिज प्रदेश १ समितिले आग्रह गरेको छ ।

बैठकमा सङ्घीय शिक्षा कार्यालय र पाठ्यक्रम विकास केन्द्रले संस्कृत भाषालाई अनिवार्य विषय बनाउने प्रचार भइरहेको बारे समेत छलफल चलेको महासचिव विदुर खवासले बताए ।

राज्यले सबै भाषालाई समान व्यवहार गर्नुपर्ने भएकोले संस्कृत विषयलाई अन्य झैँ स्वैच्छिक बनाइनु पर्ने प्रस्ताव पारित भएको छ ।

फोनिज प्रदेश १ समितिले विपद् र सामाजिक कार्यहरूमा प्रदेश सरकारलाई सहयोग गर्न चाहेपनी मन्त्री तथा सल्लाहकार हरूले बेवास्ता गर्दै आएको विषयमा पनि बैठकमा गम्भीर छलफल भएको उपाध्यक्ष फिपराज बेघा लिम्बूले बताए ।

भर्चुअल बैठकमा सल्लाहकार संयोजक जनकॠषी राई, प्रदेश सदस्य बिना तामाङ, प्रदीप चौधरी, गुरुङ सोल्टी, भास्कर चौधरी सुनसरी, अध्यक्ष अर्जुन जम्नेली राई, उपाध्यक्ष फिपराज बेघा लिम्बू, सदस्य विजय धिमाल, प्रेम देवान, लेखा समिति सदस्य अर्जुन कुलुङ राई मोरङ, उपाध्यक्ष भूमिका सुब्बा, कोषाध्यक्ष शुसन राई झापाबाट सहभागी भएका थिए ।

त्यसै गरी महासचिव विदुर खवास, सदस्य टीएल राई, मामबि तामाङ धनकुटा, सचिव अप्सरा समाल मगर उदयपुर, सदस्य अतीत लिम्बू, वीरबहादुर पापो इलाम, सदस्य साहारा लिम्बू (ताप्लेजुङ) काठमाडौँबाट सहभागी भएका थिए । बैठकमा तेह्रथुम छ्थर भेलाको समीक्षा र आफ्नो क्षेत्रको रिपोर्टिङ समेत भएको थियो । आइतबार (वैशाख २८ ) बसेको बैठकको निर्णयहरू आज विज्ञप्ति प्रकाशन गरी सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्