बेलबारी नगरपालिकाले ९ हजार भन्दा बढीलाई राहत वितरण गर्‍यो


उत्तम पोखरेल –

बेलबारी, २९ वैशाख / बेलबारी नगरपालिकाले ९ हजार भन्दा बढी घरपरिवारलाई राहत वितरण गरिसकेको छ । नगरपालिकाले ९ हजार १ सय ९८ जना परिवारलाई राहत वितरण गरेको हो ।

११ वडा रहेको नगरपालिकाका सबै वडामा दैनिक ज्यालादारी गरेर जिविको उपार्जन गर्ने परिवारलाई राहत वितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । नगरपालिकाले वडा कार्यालयमा राहत सामग्री बुझाएको थियो भने वडा कार्यालयले घरघरमा लगेर बाँडेका थिए । भिडभाड हुन नदिनका लागि घरघरमा राहत वितरण गरिएको नगर प्रमुख सुवेदीले बताए ।

नगरपालिकाले चार जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाहाल, १ किलो नुन र १ डल्ला साबुन वितरण गरेको छ भने ५ जनाभन्दा बढीको परिवारलाई २५ किलो चामल, डेढ किलो दाल, १ किलो नुन र एक डल्ला साबुन वितरण गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्