बेलबारीमा लकडाउन अवधिमा कृषकलाई धानको बिउ वितरण


उत्तम पोख्रेल – बेलबारी / बेलबारी नगरपालिकाले लकडाउनको समयमानै कृषकहरूलाई धानको बिउ वितरण गरेको छ ।

९ हजार ७ सय ४५ किलोग्राम धानको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । सुवेदीका अनुसार ४ सय कृषकलाई धानको बिउ वितरण गरिएको छ । बिउ बिजन अभाव भएकै कारणले कृषकले खेतबारी बाँझै राख्नु नपरोस् भनी बिउ वितरण गरिएको उनले बताए ।

राधा १२,साम्बा सब १,कान्छी मन्सुलि, सुख्खा ३ र स्वर्णसव १प्रजातिका धानको बिउ वितरण गरिएको नगरपालिकाका कृषि विकास शाखाका प्रमुख विनोद दाहालले बताए । तिन वर्ष सम्म अहिले वितरण गरेको धान बाट बिउ उत्पादन गर्न सकिने दाहालले बताए । उनका अनुसार खेतीमा आश्रित हुने कृषकलाई मूल बिउ वितरण गरिएको हो । बिउ पाएपछि कृषक समेत खुसी भएका छन् । समयमै बिउ प्राप्त भएकोले खेती गर्न सहज हुने कृषक हरि कार्कीले बताए ।

एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउन तरकारी, फलफूल, कृषि औजारहरू समेत वितरण गरेको नगरपालिकाको कार्यालयले जनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् तरहरा सुनसरी बाट बिउ ल्याएर वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्