भारतको आन्ध्र प्रदेशमा विषाक्त ग्याँस चुहावट : ८ जनाको मृत्यु


नयाँदिल्ली, २५ वैशाख । भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनममा राति विषाक्त ग्याँस चुहावट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ ।

पाँच हजारभन्दा बढी मानिसमा विषाक्त ग्याँसले असर गरेको र उनीहरूलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरूले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार एलजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट विषाक्त ग्याँस चुहावट भएको हो ।

सन् १९६१ मा स्थापित यो प्लान्ट सुरुमा हिन्दुस्तान पोलिमर्सको स्वामित्वमा थियो । सन् १९९७ मा यो प्लान्ट दक्षिण कोरियाली कम्पनी ‘एलजी’ ले लिएको थियो ।

बिहीबार बिहान करिब तीन बजेतिर एलजी पोलिमर कम्पनीबाट अचानक विषाक्त ग्याँस फैलिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीयवासी घरमै सुतिरहेको समयमा ग्याँस फैलिएको बताइएको छ । एक्कासि श्वास फेर्न कठिनाइ हुने, बान्ता हुने, आँखा पोल्ने जस्ता लक्षणसहित मानिसहरू घरबाहिर निस्कन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्