भाउन्ने युथ क्लबद्वारा ८० परिवारलाई राहत वितरण


वैशाख २२, बेलबारी । बेलबारी वडा नं. १० का भाउन्ने युथ क्लबको अगुवाइमा विदेशमा हुने स्थानीय समाजसेवी युवाहरूको आर्थिक सहयोगमा भाउन्ने आसपासका ८० ज्याला मजदुरी गर्ने विपन्न घर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

आफ्नो गाउँ समाजलाई माया गर्ने सहयोगी मनका धनी कतारमा (Q.C.C.) कार्यरत गणेश घिमिरे, कृष्ण लामिछाने, मोहन विष्ट, नीरज हिङ्माङ, रेवत ब. मगर, लोक ब.खड्का, सुरेश हिङ्माङ, विष्णु हिङ्माङ र उपेश नेपालले रु.६० हजार सहयोग गर्नु भएको छ । कोरोना भाइरस (COVID-19) जस्तो सरुवा महामारी रोगले गर्दा विश्वमा ठुलो धनजनको क्षति भइरहेको अवस्थामा रोगले भन्दा भोकले कोही मर्न नपरोस् भनी भाउन्ने युथ क्लबले यस कार्यमा समन्वय गरेको कार्यक्रम संयोजक अमिर मगरले जानकारी दिएका छन् ।

भाउन्ने युथ क्लबले पहिले देखि नै सरसफाइ, खेलकुद, साङ्गीतिक कार्यक्रम, वन संरक्षण तथा समाज परिवर्तनको लागि अन्य विभिन्न कार्यक्रमहरू र गतिविधिहरू गर्दै आइरहेको थियो । यस विपतको घडीमा सरकारले रोग र भोकले कसैलाई मर्न नदिन उचित कदम चाल्नुपर्ने र हामी जनताले पनि आ-आफ्नो वरपर हुँदा खाने अति विपन्न परिवारलाई सक्ने सहयोग गरौँ, आवश्यक सावधानी अपनाई सुरक्षित रहौँ अनि यो कोरोना महामारीबाट चाडै नै विश्वले मुक्ति पाओस् भन्ने, क्लबका अध्यक्ष सन्तोष तामाङले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्