सिरहामा राहत वितरण स्थलमा गोली चल्यो


सिरहा, २२ वैशाख । सिरहाको मिर्चैयास्थित राहत वितरण स्थलमा भिड नियन्त्रण गर्न प्रहरीले गोली नै चलाएको छ । राहत वितरणमा विवादको अनियन्त्रित भीडलाई नियन्त्रण गर्न सिरहाको मिर्चैयामा प्रहरीले गोली चलाएको हो ।

मिर्चैया नगरपालिका–७ फुलबरियामा राहत उपलब्ध गराउन नाम समावेश नगरेको भन्दै स्थानीयले वडा कार्यालयमा ढुंगामुढा गरेपछि झडपको अवस्था सिर्जना भएको हो । वडा कार्यालय पुगेका प्रहरीले भीड तितरबितर गर्न ९ राउन्ड हवाई फायर गरेको हो । प्रहरीले लाठी चार्ज पनि गरेको स्थानीयले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले ढुंगामुढा भएपछि हवाई फायर गरिएको बताए ।

वडा कार्यालयले राहतमा विपन्न परिवारलाई छाडेको भन्दै दुई दिनदेखि वडा कार्यालय घेराउ गर्दै आएका थिए । घटनापश्चात् वडा अध्यक्ष रामकुमार यादवले नाम छुटेका परिवारलाई राहत वितरण गरिने प्रतिबद्धता बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्