रुसमा एकै दिन १० हजार मानिस कोरोना संक्रमित


काठमाडौँ, २२ वैशाख । रुसमा कोरोना भाइरसबाट एकै दिन १० हजार मानिस संक्रमित भएका छन् । पछिल्लो विवरण अनुसार आइतबार मात्र त्यहाँ १० हजार जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

रुसमा पछिल्लो समय तीव्र रूपमा फैलिरहेको छ । यो सँगै अब रुस कोरोनाको केन्द्र बनेको छ । मार्च अन्तिम सातासम्म फाट्टफुट्ट मात्र संक्रमित रहेको रुसमा अप्रिल लागेसँगै संक्रमण ह्वात्तै बढेको हो । अहिले एक लाख ३४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने एक हजार २८० जनाको मृत्यु भइसकेको छ ।

रुसी प्रधानमन्त्री मिखाइल मिसुस्तिन स्वयम् कोरोना भाइरसबाट संक्रमित बनेका छन् । एक महिनाअघि पुछारतिर रहेको रुस अहिले सबैभन्दा बढी कोरोना संक्रमित भएका मुलुकमा सातौँ नम्बरमा पुगेको छ ।

धेरै पहिला संक्रमण देखिएका चीन, इरान, टर्कीजस्ता देशलाई पछि पार्दै अघि बढेपछि रुस नयाँ इपिसेन्टरका रूपमा देखिएको छ । राष्ट्रपति भ्लादमिर पुटिनले संक्रमणको उच्चतम विन्दुमा अझै नपुगेको बताएका छन् ।

देशभर मे ११ सम्मका लागि काम गर्न नपाइने नियम लगाइएको छ भने मार्च ३० देखि राजधानी मस्कोका एक करोड २० लाख मानिसलाई अत्यावश्यक बाहेक बाहिर निस्कन निषेध गरिएको छ ।

रुसमा अहिले दैनिक एक लाख ५० हजार मानिसको कोरोना परीक्षण भइरहेको दाबी पुटिनले गरेका छन् । त्यहाँ अहिलेसम्म ३० लाख मानिसको कोरोना परीक्षण गरिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्