बेलबारी खानेपानीले उपभोक्तालाई न्यूनतम महसुल छुट दिने निर्णय


काठमाडौँ, १८ वैशाख । बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई राहत स्वरूप १ महिनाको न्यूनतम महसुल छुट दिने भएको छ । वैशाख महिनाको न्यूनतम महसुल छुट दिने संस्थाले घोषणा गरेको हो ।

बिहीबार पत्रकार सम्मेलन गर्दै लकडाउनले मारमा पारेका उपभोक्तालाई करिब ३ लाख रुपैयाँ बारबारको छुट दिने संस्थाले जनाएको छ । संस्थामा रहेका १ हजार ६ सय ५० भन्दा बढी उपभोक्तालाई सो छुट दिन लागेको अध्यक्ष महेन्द्र सुवेदीले जनाएका छन् ।

संस्थाले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै लकडाउनले गर्दा रोजगार, व्यापार लगायतका कुनै पनि काम गर्न नपाउँदा आयआर्जन नभएकोले उपभोक्तालाई राहत स्वरूप छुट दिने निर्णय गरेको जनाएको छ । प्रेस विज्ञप्तिमा संस्थाका अध्यक्ष महेन्द्र सुवेदी र सचिव अम्बरबहादुर सुवेदीको हस्ताक्षर रहेको छ ।

न्यूनतम भन्दा माथि महसुल उठेको भएमा सो रकम उपभोक्ताले तिर्नुपर्ने संस्थाले जनाएको छ । व्यक्तिगत तर्फको न्यूनतम शुल्क १ सय ५० रुपैयाँ रहेको छ भने संस्थागत न्यूनतम शुल्क ३ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्