कोरोनापछि वामदेव प्रधानमन्त्री, माधव पार्टी अध्यक्ष बनाउने : ओलीको प्रस्ताव


काठमाडौँ, १७ वैशाख / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव अघि सारेका छन् ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।

एक सचिवालय सदस्यका अनुसार, प्रधानमन्त्री ओलीले कोरोना महामारी पछाडि नेता नेपाललाई अध्यक्ष र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव एकाएक ल्याएका छन् । ती सदस्यका अनुसार बैठकमा प्रधानमन्त्रीको प्रस्ताव थियो, ‘जे गर्नुपर्ने हो, कोरोना पछाडि गरौँ । अहिले अध्यक्ष र प्रधानमन्त्री बनाउने कुरा सहमति गरौँ ।’

पार्टी गौतम सांसद नरहेकाले कुनै स्थान खाली गराएर उपनिर्वाचनमार्फत सांसद बनाउने प्रस्ताव प्रधानमन्त्री ओलीको छ । प्रधानमन्त्री ओलीको प्रस्तावमा सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णुप्रसाद पौडेलले समर्थन गरेका थिए । बैठकमा प्रधानमन्त्री भन्दा अघि बोलेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी फुटाउने नियतका साथ काम गरेको आरोप लगाएका थिए । प्रचण्डले ओलीलाई प्रधानमन्त्री पद त्याग गर्दा राम्रो हुने सल्लाह दिएको एक सचिवालय सदस्यले बताए ।

बैठकमा अर्का वरिष्ठ नेता माधव नेपाल पनि कडा रूपमा प्रस्तुत भएका थिए । नेता नेपालले प्रधानमन्त्री ओलीमा अहंकार धेरै भएको भन्दै राजीनामा दिएर मार्गप्रश्स्त गर्न सुझाव दिएका थिए । अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताएका थिए । दुवै नेताले स्थायी कमिटी बोलाउन माग गरे । प्रधानमन्त्री ओलीको प्रस्तावपछि उपाध्यक्ष गौतम ओलीको प्रस्तावलाई सचिवालयबाटै निर्णय गर्नुपर्ने बताए । बैठक यही वैशाख २० गते फेरि बस्ने गरी सकिएको छ ।

ओलीको यो प्रस्तावलाई भैंसेपाटी गठबन्धन फुटाउने षड्यन्त्रको रूपमा आफूहरूले लिएको एक सचिवालय सदस्यले बताए । गत बिहीबार साँझ उपाध्यक्ष गौतमको भैंसेपाटी स्थित निवासमा भएको भेलाले सरकारले जारी गरेको दुवै अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने निष्कर्ष निकालेको हो । भेलामा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ सहभागी थिए

प्रतिक्रिया दिनुहोस्