कोरोना उपचार केन्द्र पुर्वान्चल विश्वविद्यालय गोठगाँउमा बन्ने


मिलन घिमिरे– सुन्दरहरैंचा, १६ वैशाख / प्रदेश सरकारले पुर्वान्चल विश्व विद्यालय सुन्दरहरैंचामा कोरोना उपचार केन्द्र निर्माण गर्ने भएको छ । नेपाली सेनाको व्यवस्थापनमा केही दिन भित्रै अस्पताल सञ्चालन हुने भएको हो ।

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, प्रदेश सांसद राजकुमार ओझा, मोरङका सिडिओ भुजेल, सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धना तामाङ लगायत सेना र प्रहरीको टोलीले सोमबार विश्व विद्यालयको पूर्वाधार र वातावरणको स्थलगत अवलोकन गरेको छ ।

प्रदेश सरकारद्वारा मोरङको टाँढी स्थित खुल्ला चौरमा आपत्कालीन स्थापना गरिएको क्वारेन्टाइन समेत विश्व विद्यालयमा सार्ने तयारी भएको छ । हावाहुरी र नजिकिँदै गरेको बर्खा याममा खुल्ला स्थान उपयुक्त नहुने भएकाले विश्व विद्यालयको भवनमा कोरेनटाइन सार्न लागिएको हो ।

कोरोना संक्रमित बिरामीहरूलाई अवस्था हेरेर विश्व विद्यालयमा उपचार हुनेछ । सो स्थानमा मध्यम तथा न्यून जोखिम भएका संक्रमित बिरामीको उपचार गरिने व्यवस्था गरिएको छ भने उच्च जोखिम भएकाहरूलाई धरान घोपा वा कोसी अञ्चल अस्पताल पठाइने भएको छ ।

कोरोनाको उच्च जोखिमबाट सुरक्षा सतर्कता अपनाउन उक्त अस्पताल निर्माण गरिन लागेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । कोरोना नियन्त्रण र न्यूनीकरणका लागी प्रदेश सरकार सफल हुने विश्वास व्यक्त गर्दै भैपरी आए पूर्वी क्षेत्रका कोरोना संक्रमित बिरामीलाई उपचार गराउन सहज हुने उनले बताए ।

सो क्षेत्रका प्रदेश सांसद राजकुमार ओझाको विशेष पहलमा प्रदेश सरकारद्वारा निर्माण हुन लागेको उपचार केन्द्रमा आइसुलेसन र क्वारेन्टाइनको राम्रो व्यवस्था गरिने भएको छ । भेन्टिलेटर समेतको व्यवस्था हुने गरी अस्पताल निर्माण गर्न आफूले पहल गरिरहेको सांसद ओझाले बताए ।

साथै विश्व विद्यालयका उपकुलपति यादवराज कोइरालाले हालको भयावह स्थितिमा महामारी नियन्त्रणका लागी विश्व विद्यालयले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । अस्पताल निर्माणको काम नेपाली सेनाले मङ्लबार देखि नै सुरु गर्ने जनाएको छ ।

https://youtu.be/cp0COM5_4eY

प्रतिक्रिया दिनुहोस्