बेलबारीका दुई व्यापारिक प्रतिष्ठानलाई कारबाही : जरिवाना र अनिश्चितकाल बन्दा


बेलबारी, १२ वैशाख / मोरङको बेलबारीमा प्रदेश १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, घरेलु तथा साना उद्योग कार्यालय, विराटनगर, मोरङ साथै बेलबारी नगरपालिका प्रतिनिधिको संयुक्त अनुगमन टोलीले बेलबारीका दुई व्यापारिक प्रतिष्ठानलाई कारबाही गरेको छ ।

दैनिक उपभोग गर्ने खाद्य वस्तुको मूल्यमा अनियमितता भएको जनगुनासो आएसँगै बुधवार भएको संयुक्त बजार अनुगमन टोलीले म्याद नाघेको सामाग्री राख्ने तथा मूल्य अनियमितता गर्ने दुई व्यापारिक प्रतिष्ठानलाई कारबाही गरेको हो ।

कारबाहीमा प्रदीप स्टोर र श्री विन्ध्यवासिनी खाद्य उद्योग परेको छ। अनुगमन टोलीले म्याद समाप्त भएको सामाग्री भेटे पछि प्रदीप स्टोर कारबाहीमा परेको हो । स्टोरमा फेला परेको म्याद नाघेको सामाग्री अनुगमन टोली डिस्पोज गरेका छन् साथै रु.२० हजार जरिवाना गरेको छ ।

अनुगमन टोलीका अनुसार अनुगमनमा चामलको उचित मूल्य नपाए पछि श्री विन्ध्यवासिनी खाद्य उद्योगलाई अनिश्चितकाललाई विक्री वितरण गर्न बन्द गरिएको छ । बेलबारी नगरपालिकामा समन्वय गरी उचित मूल्य कायम नगरिन्जेललाई विक्री वितरण गर्न नपाउने गरी बन्द गरिएको हो । बेलबारी नगरपालिकासँगको समन्वय चामलको उचित मूल्य निर्धारण गरे मात्र विन्ध्यवासिनी बिक्री वितरण गर्न पाउने अनुगमन टोलीले जनाएको छ ।

यसरी गरिने बजार अनुगमन साना व्यापारिक प्रतिष्ठान देखी ठुला सबै उद्योग सम्म गर्नु पर्ने आवश्यकता देखिन्छ । कोरोना भाइरसले विश्वै आक्रान्त बनाएको यस विषम अवस्थामा सम्बन्धित निकायले बजार अनुगमनलाई अझै सक्रिय बनाउनु पर्ने अवश्य रहेको छ । यसले व्यापारिक प्रतिष्ठानहरूमा सुधार ल्याउँछ भने सर्वसाधारणलाई राहत मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्