बेलबारी नगरपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्‍याउँदै


केशु विरही – बेलबारी, मोरङ / कोरोना भाइरस (कोभिड –१९) का कारणले विश्वनै आक्रान्त भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले समेत यो बेलामा सबैभन्दा बढी प्रभावित वृद्धवृद्धा तथा बाबलबालिकाहरु भएको तथ्य सार्वजनिक गरेको छ ।

कोरोनाको संक्रमण फैलिन नदिन आज पुरै देश लकडाउनमा छ । लकडाउनका कारणले वैंक तथा वित्तीय संस्थाहरू बन्द रहँदा वृद्धवृद्धाहरुले राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता समेत लिन पाइरहेका छैनन् । यो तथ्यलाई मध्यनजर गर्दै बेलबारी नगरपालिकाले भने वृद्धवृद्धालाई घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्‍याउन थालेको छ ।

लकडाउनका कारणले यातायात थप्प हुँदा बैङ्कमा गएर राज्यले दिँदै आएको सामाजिक सुरक्षा अन्तरगतको भत्ता समेत लिन नसक्ने अवस्थाका वृद्धवृद्धाका लागि भने सामाजिक सुरक्षा भत्ता नगरपालिकाले घरघरमा पुर्‍याउन थालेको हो ।

लकडाउनले गर्दा राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता समेत निकाल्न असमर्थ भइरहेको बेलामा वार्डले बैंकसँग सहकार्य गरेर वार्डभरिका वृद्धावस्था, अपाङ्ग तथा अशक्तहरुहरुलाई घरघरमा रकम पुर्‍याउन थालेको बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गौतम बताउँछन् । (वाईट..घनश्याम गौतम, २ न वाड अध्यक्ष बेलबारी नगरपालिका)

अध्यक्ष गौतम वाडको खाता वाणिज्य बैङ्क बेलबारी शाखामा रहेकोले बैंकसँग सहकार्य गरेर वृद्धवृद्धाहरुका घरघरमा पुगेर उनीहरूलाई चेकमा साइन गराएको र बैकबाट पैसा झिकेर उनीहरूलाई घरघरमा पुर्‍याएको बताउँछन् ।

११ वटा वडामा विभाजित यस नगरपालिकामा हालसम्म वार्ड नं २ सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या ४७४ जना महिला तथा २२४ पुरुष गरी जम्मा ६९८ रहेको छ ।बेलबारी नगरपालिकाले मात्र यस्तो प्रकृतिको कार्यक्रमको सुरु गरेको हो । अन्य स्थानीये भने हालसम्म यस्ता प्रकृतिका कार्यक्रम ल्याउन सकेका छैनन् ।

यसरी भत्ता बाँड्दा भिडभाड हुन्छ भनेर वाड कार्यालयले सकेसम्म घरघरमा नभए पनि टोल विकास संस्थामा पुगेर सामाजिक दुरी समेत कायम गर्दै सामाजिक सुरक्षा भत्ता बाँडिरहेको छ । वाड कार्यालयले सञ्चालन गरेको यस कार्यलाई वाडवासीले भने एक असल अभिभावकले सम्पादन गर्ने कार्य वा भूमिकाको रूपमा लिएका छन् ।

यस्तो विषम परिस्थितिमा वाड कार्यालयले गरेको कार्य उदाहरणीय रहेका बेलबारी –२, लालभित्तीका स्थानीय समेत रहेका शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानका अध्यक्ष लक्ष्मण जङ्ग थापा बताउँछन् । वृद्धवृद्धाहरु पनि नगरपालिकाले घर दैलामै भत्ता ल्याइदिँदा फुरुङ थिए । घरघरमै भत्ता ल्याइदिएकोमा वाड कार्यालयलाई धन्यवाद दिँदै अरू बेलामा पनि यसरी नै घरघरमै भत्ता ल्याइदिन अनुरोध गर्दै थिए ।

अब सङ्घीय तथा प्रदेश सरकारको भर पर्नु पर्दैन, आफ्नै गाउँमा सरकार छ भन्ने अनुभूति दिलाउने बेलबारी नगरपालिकाको काम आफैमा उदाहरणीय र त्यतिकै अनुकरणीय पनि छ । अरू स्थानीयपालिकाहरुले पनि बेलबारी नगरपालिका वार्ड नं – २ ले गरिरहेको कामलाई अनुशण गर्ने पो हो कि ।

 

प्रतिक्रिया दिनुहोस्