कैलालीकी ५० वर्षीय संक्रमित महिला उपचारपछि निको भएर घर फर्किन


कैलाली, ११ वैशाख । कैलालीकी ५० वर्षीय कोरोना संक्रमित महिला उपचारपछि निको भएर घर फर्किएकी छन् । लम्कीचुहा नगरपालिका–१ की ५० वर्षीय महिला आज (बिहीबार) सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिएका छन् । यसअघि लम्कीचुहाका २१ वर्षीय युवक, धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय पुरुष र कञ्चनपुर बेदकोटका ४१ वर्षीय युवक निको भएर घर फर्किसकेका छन् ।

आज डिस्चार्ज भएकी महिलाको यसअघि दुई पटकसम्म पोजेटिभ रिपोर्ट आएको थियो । तर, बुधवार र बिहीबार नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताएका छन् ।

पर्साको वीरगन्जबाट आएर क्वारेन्टाइन बसेपछि उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ की ३४ वर्षीय महिला मात्रै सेती अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत छिन् ।

उनी निको भएर घर गएका धनगढी ५ का पुरुषको भाउजू हुन् । आजै (बिहीबारै) पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई कोरोना संक्रमित आमा–छोरा उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्