टाँडी क्वारेन्टाइनका टेन्ट हावाहुरीले उडाएर सास्ती


विराटनगर, ९ वैशाख । आइतबार र सोमवार राती आएको हावाहुरीले मोरङको मिम्लााजुङ गाउँपालिका ४ टाँडी स्थित क्वारेन्टाइनका टेन्टहरू उडाएर सास्ती थपेको छ । नेपाली सेनाको सुर्यदल गणको गुल्म क्षेत्रको जंगलको चौरमा निर्माण भएको क्वारेन्टाइनमा हावाहुरीले प्लास्टिकका टेन्टहरू उठाएर सास्ती थपेको हो ।

सोमवार राती आएको हावाहुरीले ५० वटा जति मानिस नबसेका खाली पालहरू भत्काएको र सबैको पुर्न निर्माण भइरहेको सुर्यदलगणका गणपति रघुनाथ पौडेलले बताए ।

उनका अनुसार आइतबार राती हावाहुरीले दुई दर्जन पालमा क्षति पुगेको थियो । हावाहुरीले पानीका टयाँङकी र भाँडाकुँडाहरू उडाएर छरेको थियो । हावाहुरीले टेन्टमा क्षति पुर्याएनी कुनै मानवीय क्षति भने भएको छैन । हाल टाँडी स्थित क्वारेन्टाइनमा १३ जना निगरानीमा छन् । हालसम्म क्वारेन्टाइनबाट १ सय ४३ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

एक नम्बर प्रदेश सरकारले चाइनिज टेन्ट प्रयोग गरेर कोरोना भाइरस शंकास्पद मानिसहरूलाई राख्नकालागि दुई सय १२ बेडको क्वारेन्टाइन निर्माण गरेको हो । क्वारेन्टाइनको आन्तरिक व्यवस्थापन नेपाली सेनाले र बाहिरको सुरक्षा नेपाल प्रहरीले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्