सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्ने


काठमाडौँ, ८ वैशाख । कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब सरकारले कट्टा नगर्ने भएको छ ।

यस सङ्कटको बेला फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्ने उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित निकायलाई सोही अनुसार तलब कट्टा नगर्न पत्राचार गरेको छ ।

यस अघि अधिकृत तहदेखि माथिका प्रहरीको तीनदेखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने प्रहरी प्रधान कार्यालयले निर्णय गरेको थियो । अब सरकारको यस्तो निर्णय पछि सुरक्षाकर्मीको तलब कट्टा हुने छैन तर स्वैच्छिक रूपमा कोषमा तलब काटेर जम्मा गर्न भने सक्ने छ ।

अन्य राष्ट्रसेवक कर्मचारीको तलब भने कट्टा हुने छ । उनीहरूको ओहोदा अनुसार तीन देखि ७ दिनसम्मको तलब कट्टा गरी सरकारले गठन गरेको कोषमा जम्मा हुने छ ।

प्रतिक्रिया दिनुहोस्