बेलबारीको मस्जिदमा अनुगमन


बेलबारी, ७ वैशाख / कोरोना भाइरस कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन बेलबारी नगरपालिकाले नगरपालिकाभित्रका मस्जिदको अनुगमन गरेको छ । नगर उपप्रमुख ढाका कुमारी पराजुली नेतृत्वको टोलीले आइतबार बेलबारी ७ स्थित बाहुनीको मस्जिदको अनुगमन गरेको छ ।

मुस्लिम समुदायका अगुवा एवम् मस्जिद समिति अध्यक्ष फारोद हुसेन मस्जिदका पुजारी जाकिर हुसेन तथा स्थानीयसँग अनुगमन टोलीले त्यहाँको अवस्थाबारे बुझेका छन् । उनीहरूले बाहिरबाट कुनै नयाँ आगन्तुक नआएको जनाएका छन् । उनीहरूले कोरोना भाइरसको सम्भावित जोखिमबाट समुदायनैनै सचेत रहेको बताएका छन् ।

उपप्रमुख पराजुलीले धार्मिक सहिष्णुता आपसी सद्भाव तथा एकतालाई अझ बलियो बनाउँदै कोरोना भाइरसको जोखिम विरुद्ध लड्न आवश्यक रहेको बताइन । पराजुलीले भारत लगायत अन्यत्रबाट कोही व्यक्ति वा पाहुनाहरू आएका भए तत्काल प्रहरी अथवा स्थानीय तहलाई जानकारी दिन आग्रह गरेकी छन् ।

उक्त अनुगमन गरिएको स्थानका स्थानीयलाई लकडाउनको पालना गर्न आग्रह गर्दै उक्त स्थानमा विशेष निगरानी बढाइएको उपप्रमुख पराजुलीले बताइन् । अनुगमन टोलीमा वडा नं ७ का वडाध्यक्ष चेतराज बस्नेत, इलाका प्रहरी कार्यालय बेलबारीका प्रतिनिधि, नगरपालिकाका स्वास्थ्यकर्मीहरु, नगरस्तरीय बजार अनुगमन समितिका सदस्यहरू, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्