बेलबारीमा शिक्षा सन्देशले लकडाउनमा अनलाइन मार्फत विद्यार्थी पढाउँदै


बेलबारी, ७ वैशाख । मोरङको बेलबारी (२, लालभित्तीमा रहेको शिक्षा सन्देश ई. स्कुलले लकडाउनबाट प्रभावित विद्यार्थीको भविष्यलाई मध्यनजर गरेर अनलाइन मार्फत पठनपाठन सुरु गरेको छ ।

निकट भविष्यमै सञ्चालन हुने बोर्ड परीक्षालाई मध्यनजर गर्दै जुम क्लाउड नामक एप्सको माध्यायमबाट कक्षा ११ का विद्यार्थीहरूलाई प्रत्येक दिन बिहान ८ बजेबाट र एसइईका विद्यार्थीका लागि दिउँसो २ बजेदेखि कक्षा सञ्चालन गरिरहेको विद्यालयका प्रिन्सिपल राजेश खत्रीले जानकारी दिएका छन् ।

प्रधानाध्यापक खत्रीले विद्यालयले अनलाइनबाट हरेक दिन अलग अलग विषयको रुटिन बनाएर कक्षा सञ्चालन भइरहेको जानकारी दिए । लकडाउनका कारण विद्यालय लामो समयदेखि बन्द रहेको कारणले विद्यार्थीहरूको भविष्यलाई समेत मध्यनजर गर्दै अनलाइन कक्षा सुरु गरेको विद्यालयका काउन्सिलर भूपाल बस्नेत बताउँछन् ।

कोरोना रोगको महामारीका कारण नेपालमा २०७६ चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण सबै विद्यालयहरू बन्द रहेको अवस्थामा नगरपालिकामै पहिलो पटक अनलाइन मार्फत कक्षा सुरु गरेको दाबी गरेको शिक्षा सन्देशले ११ र एसइई मात्र नभएर अन्य कक्षा पनि अनलाइनमार्फत सञ्चालन गर्ने तयारीमा रहेको बताएको छ ।

बेलबारीमा लकडाउनका कारण कतिपय विद्यालयका वार्षिक परीक्षा भएका छैनन् भने कक्षा ५ र कक्षा ८ को परीक्षा समेत रोकिएको छ । साथै पछिल्लो समयमा सुन्दरहरैंचा नगरपालिकामा रहेका सुकुना बहूमुखी क्याम्पस र सिद्धार्थ ई स्कुलले समेत अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्