राहत सामग्री लुटेको आरोपमा पर्सामा पाँच जना पक्राउ


वीरगन्ज, ७ वैशाख । राहत सामग्री लुटपाट गरेको आरोमा पर्साको पर्सागढी नगरपालिकाका पाँच जना पक्राउ परेका छन् । पर्सागढी नगरपालिका विपन्न परिवारलाई वितरण गर्न लैजाँदै गर्दा राहत लुट्ने पाँचजना पक्राउ परेको हो ।

वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्र किशोर साह, चन्द्रिका पटेल र दर्शन रायभारलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र एकटाङ्गाको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

प्रहरीका अनुसार वडा नं ६ मा लैजाँदै गरेको ८४ पोका राहत सामग्री वडा नम्बर ५ को पचरुखीमा लुटेका थिए । राहत सामग्रीको प्रति पोकामा दुई किलो दाल, एक लिटर तेल, दुई प्याकेट नुन, दुई वटा डिटोल र दुई वटा कपडा धुने साबुन गरी छ सय रुपैयाँ बराबरको समान रहेको पर्सागढी नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्