लकडाउनमा बेलबारीका सब्जी व्यापारीको प्राथमिकतामा स्थानीय किसानको तरकारी


बेलबारी, ५ वैशाख / बेलबारीमा किसानलाई तरकारी बिक्री तथा निकासमा लकडाउनबाट उत्पन्न समस्याको समाधान भएको छ ।

कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई ध्यानमा राख्दै सरकारले लागु गरेको लकडाउनले ठुला लगानीमा सुरु गरेको तरकारी खेती गर्ने बेलावारिका किसानलाई स्थानीय तरकारी विक्रेताले खरिद गर्न थाले पछि समस्याको समाधान भएको हो ।

बेलवारी नगरपालिकाको वडा नं. ८ मा किसानले शुद्ध तरकारी उत्पादन गरेता पनि लकडाउनको कारण निकास गर्ने माध्यम नपाउँदा कुहिने अवस्थामा पुगेको थियो । तरकारी कुहिन लाग्दा पनि बजारमा बिक्री नगर्न नपाएको किसानको गुनासो रहेको थियो ।

बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीलाई उक्त गुनासो आए पछि बेलबारी ८ का तरकारी खेती गर्ने किसानहरूलाई भेटेर समस्याको समाधान गरेकी छन् । स्थानीय सब्जी व्यापारीलाई स्थानीय उत्पादन प्राथमिकतामा राखेर बिक्री गर्न अनुरोध गरे पछि, आज शुक्रवारदेखि बजार र घर घरमा तरकारी बिक्री सुरु भएको बताएकी छन् ।

उनले भनिन, ‘लकडाउनका कारण जनजीवन असहज बनिरहेको सन्दर्भमा निकासीमा समस्या भई किसानहरूले उत्पादन गरेको शुद्ध तरकारी बिक्रीमा समस्या उत्पन्न हुँदा खेतीको तरकारी कुहिने अवस्था आउन लागेको गुनासो आएसँगै नगरपालिकाबाट तत्काल उक्त स्थानमा पुगेका थियौँ । किसानहरूको गुनासो सम्बोधन गर्न हामीले बेलबारी र आसपासका व्यापारीहरूलाई स्थानीय उत्पादनलाई प्राथमिकता दिन सुझाएसँगै स्थानीय व्यापारीहरूले उक्त कुरालाई सकारात्मक रूपमा लिई स्थानीय किसानहरूले उत्पादन गरेको तरकारी उठाइ आजबाट बजार र घर घर पुर्‍याई बिक्री गर्ने काम सुरु भएको छ ।’

बेलबारी वडा नं. ८, राधानगरका किसान नेत्र खड्का, टिका पराजुली, मङ्गलसिंह तामाङ र सन्तोष घिमिरेको तरकारी बिक्री हुन थालेको छ । लकडाउनको कारण लगानी डुब्ने अवस्थामा व्यवसायलाई समन्वय गरी सहज र अनुकूल वातावरण निर्माण गरेर हौसला र सहयोग गरेकोमा उनीहरूले उपमेयरलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्