बेलबारीमा बिरामी चौपाया र अपरिचित व्यक्तिबाट वाड नं. २ का स्थानीय त्रसित


केशु विरही-

बेलबारी, मोरङ / सरकारले कोरोना भाइरस रोकथामको लागि लागु गरेको लकडाउनमा परेका बिरामी चौपाया र अपरिचित व्यक्तिदेखि बेलबारी वाड नं. २ का स्थानीय त्रसित भएका छन् । मोरङको बेलबारीमा लाग्ने साप्ताहिक सोमबारे बजारमा बिक्री गर्न ल्याएका चौपाया लकडाउनमा परेर बिरामी हुन थाले पछि स्थानीय त्रसित भएका हुन ।

चौपाया ल्याएर बजार आएका व्यक्तिहरू अपरिचित भएको र पशुहरू बिरामी हुन थालेकोले त्रसित बनाएको स्थानीयको बताउँछन् । फागुन ११ गतेदेखि लागु भएका लकडाउनका कारण २ सय जति पशुहरू बेलबारी २, लालभित्तीस्थित नर्सरीमा राखिएको छ । मानव बस्ती पनि नजिकै रहेको छ । लकडाउनमा परेका चौपाया राख्ने उपयुक्त स्थान नभएकोले नर्सरीमा सारिएको बजार समितिले जनाएको छ ।

लकडाउनको कारणले ठेकेदार आउन नपाएकोले सरोकारवाला निकायहरूसँग सल्लाह गरेरै लकडाउन खुलुन्जेलका लागि त्यहाँ नर्सरीमा राखिएको बेलबारी बजार समितिका मनोज सुवेदी बताए । कुनै विकल्प नभएपछि पशुहरूलाई शीतल हुने ठाउँ हेरेर सो स्थानमा राखिएको सुबेदीले बताए ।

बाँधिएका पशुहरूको अवस्था दयनीय रहेको छ । धेरैजसो पशु बिरामी देखिन्छन् । डोरीले लस्करै बाँधिएका पशुहरूलाई उचित आहारा र उपचारको अभाव छ । कतिपय पशु उभिन सक्ने अवस्थामा नै छैन ।

मरेका पशु समेत व्यवस्थित नभएकोले पशुबाट रोग सर्ने डर भएको र पशुलाई हेरचाह गर्न आउने अपरिचित मानिसहरूका कारणले त्रसित भएको स्थानीय बालकुमार तामाङ बताउँछन् ।

मानव स्वास्थ्यभन्दा ठुलो कुरा नभएको बताउँदै स्थानीयले ती पशुहरू हटाउनु पर्ने माग राखेका छन् । स्थानीय डिल्लु गहतराज भन्छन्, ‘यस्तो विषम परिस्थितिमा बिरामी पशु र अपरिचित मानिसबाट स्थानीयहरू त्रसित भयकोले यी पशुहरू यहाँबाट हटाउनु पर्छ ।’

बेलबारी नगरपालिकाले भने मानववस्ती नजिक बिरामी पशुहरू बाँध्न नपाइने बताएको छ । उक्त स्थानमा पशु राख्न अनुमति नदिएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदी बताए । नगरप्रमुख सुवेदी भने, ‘लकडाउनका कारणले गर्दा यातायात ठप्प भयकोले केही समयका लागि मानववस्तीलाई असर नपर्ने गरी टाढा स्थानमा बाँध्न अनुमति दिइएको हो । तर गाईबस्तुहरू मानववस्ती नजिकै बाँधेर राखेको मैले खबर पाएको छु । खबर पाउनसाथ मैले मानववस्तीबाट टाढा लैजान निर्देशन दिइसकेको छु ।’

प्रतिक्रिया दिनुहोस्