होमक्वारेन्टाइनमा नयाँ वर्ष


तारा पराजुली – प्रचलनमा रहेको क्यालेन्डरको पहिलो दिनलाई नयाँ वर्ष आरम्भको दिन भनेर हामी बुझ्छौँ । नेपाल लगायत विक्रम संवत् मान्ने स्थानहरूमा वैशाख १ गतेलाई नयाँ वर्ष मानिन्छ । पन्चाङ्गमा आधारित यस आधिकारिक र प्रचलित संवतका रूपमा विक्रम सम्वतलाई मानिन्छ।खास गरी सूर्य ग्रहसँग सम्बन्धित भएकाले सौर्य पात्रोको नामकरण गरिएको यस पात्रोलाई नेपाल र भारतमा चलनमा ल्याइए पनि नेपालमा प्रचलित र आधिकारिक संवतका रूपमा लिइन्छ। वि सं राजा विक्रमादित्यले सुरु गरे पनि नेपालमा राजा चन्द्र शमशेरको कार्यकालदेखि प्रचलनमा ल्याइएको हो।

नयाँ वर्ष मनाउने हरेक देशका आआफ्नै शैलीहरू छन् । नेपालमा भने विविध कार्यक्रमहरू आयोजना गरी सरिक हुने,वनभोज, साथीभाइ भेटघाट इस्ट्मित्र भेटघाट, ससाना पार्टी उत्सव गरेर नयाँ वर्ष मनाउने परिपाटी यसबर्ष फेरिएको छ। यस पटकको नयाँबर्ष घरभित्रै मनाऔँ।हामीले बुझेका छौँ कि,हुरीले सपनाहरू चुटाएर जान्छ। तर शान्त हावाको गति जति बढी भयो चङ्गा त्यति माथि उड्छ।यस बेला हामी हुरी होइन शान्त हावा बाँचिरहेछौँ बहिरहेछौँ। शान्ति र स्वतन्त्रता जीवनका लागि अक्सिजन हुन् । आफनै घर आँगनभित्र शान्ति आनन्द र स्वतन्त्रता महसुस गरौँ। नयाँ वर्ष साँच्चीकै नयाँ बन्नेछ।

नेपाली नयाँ वर्षको पुर्वसन्ध्यातिर फैलिएको कोरोना सन्त्रास लकडाउनसम्म पुग्दा हाम्रा सबैजसो दिनचर्या फेरिएका छन् । यस बेला नेपाल लगायत विश्वका अधिकांश देशहरू आम मुद्दाहरू एकातिर थन्क्याएर बाँचौँ र बचाउको मुद्दामा एकाकार छन् । मुलुकका सबै शक्तिहरूलाई पछि पार्दै कोरोना भाइरस अहिले सर्वाधिक शक्तिशाली बनेर छाइरहेको छ । जसको सबैभन्दा ठुलो शत्रुता मानव समुदायसँग देखिन्छ। यसर्थ कोरोना भाइरसको क्रूर महामारीबाट अहिले विश्व मानव बेचयन र त्रसित छ। यस त्रासलाई सावधानीमा बदलेर मानव जगतको रक्षार्थ हामी हरेक नागरिक युद्ध भूमिका युद्दकर्मीका रूपमा तैनाथ छौँ। हामीलाई शङ्का र त्रासले उकुसमुकुस बनाए पनि हताश भइहाल्नु पर्ने अवस्था छैन। सभ्यताको विकाससँगै अनेकौँ उथलपुथल र संकटका कालखण्डहरू हामीले जितेका छौ।यस पटक पनि हामी जित्नकै लागि सम्पूर्ण शक्ति र स्रोतसँगै बुद्दिमतापूर्वक परिचालित छौँ।पक्कै पनि हाम्रो बुद्धिमत्ता पराजित हुनेछैन।

यस बेला सरकारले अघि सारेको लकडाउनको परिपालना र निरन्तरको होमक्वारेन्टाइन नीति नै कोरोना विरुद्धको संजिवनी अर्थात् अचुक औषधी हो भन्ने बुझेर पनि आम गतिशीलतालाई हामीले ब्रेक लगाएका छौँ।लकडाउनलाई मर्यादित बनाउन हाम्रा आचरण व्यवहारहरूमा परिवर्तन गरेका छौँ। स्वतन्त्र पन्छी झैँ उडिरहने हामी लामो समय घरभित्रै बस्नुपर्दा अलि भिन्न महसुस हुनु स्वाभाविक हो।मौलिक रहनसहन रीतिरिवाज धार्मिक सांस्कृतिक लगायत अत्यावश्यक काम बाहेक विविध क्रियाकलापहरू हामीले थाँती राखेका छौ । कोरोना कहर पार गर्दै हाम्रो सामु नयाँ वर्ष प्रवेश गर्दै छ। हर्षोल्लाससहित नयाँ वर्षलाई स्वागत गर्दै आआफ्नै शैलीमा उल्लासमय गतिविधि गर्ने हाम्रो जुन पद्धति थियो यस पटक अलि भिन्न बन्ने छ। पहिलो कुरा हामी बाचौँ।हामी बाचेँ थुप्रै नयाँ वर्षहरू सुन्दर अवसर बनेर बर्सेनि आउने छन् कामना गरौँ ।

यति बेला अलिकति समय गहन चिन्तन गर्न थोरै फुर्सद निकालौँ अनि केही पटक जिन्दगीलाई दोहिर्याएर तेहेर्याएर राम्रोसँग पढौँ । हामीले आफ्नो जीवनकालमा थुप्रै नयाँ वर्षहरू कटाएका छौँ । यस अन्तरालमा नयाँ लागेका कैयौँ याम हामीले हेर्दाहेर्दै पुरानो मात्र होइन थोत्रो बनाएका छौ । वर्षको सुरुवात नयाँ र असल काम गरेर सुरु गरे सिङ्गो साल सफल हुन्छ भन्ने मान्यताभित्र हुर्किएका हामी कुनै न कुनै नयाँ क्रियाकलाप विनाको नयाँ वर्ष खल्लो र नमज्जा लाग्नु अस्वाभाविक होइन।इतिहासमै हामी समयको रौद्र रूप भोगिरहेछौँ । जहाँ जुन अवस्थामा भए पनि यो वर्षको नयाँ दिनको सुरुवात हामी भिन्न ढङ्गले गरौँ । विगतमा गरेका राम्रा कामहरू स्मरण गर्दै प्राप्त भएको आनन्द महसुस गर्दा मात्र पनि अलिकति ऊर्जा बढ्छ । अब फेरि त्यो भन्दा परिष्कृत शैलीको खोजी र प्रण गरौँ।जानेर या नजानेर गरेका गल्तीहरूलाई याचना गरौँ।सकेसम्म फेरि जानेर गल्ती नगर्ने अठोट गरौँ।खुसी हुने बहानामा हामीले आजसम्म यी काम छुटाइरहेका छौँ भने यो समयले परिपूर्ति गर्न सहयोग गर्नेछ ।

केही झोक्का श्वास र तागतको इन्धनले उडिरहेको जीवनको रकेट उपयुक्त समय र ठाउँमा ल्यान्ड होउन्जेल आत्मबलले पनि थप गति र उत्प्रेरणा दिइरहन्छ ।
यति बेला धेरैजसो घरबाहिर काम गर्ने पुरुष दाजुभाइहरूलाई घरभित्र बस्न निकै कठिन भएको छ । अधिकांश महिलाहरूले भने कामकाजी र आत्मनिर्भर भए पनि घर, पेसा,अफिसको समय र कामको राम्ररी ब्यालेन्स मिलाएकै हुँदा त्यति धेरै अप्ठ्यारो छैन । घर र जागिर धान्न आफैले प्रतिपादन गरेका मानकहरूले काम गरिरहेकै छन् । कार्यालयको काम सकिनासाथ साथीभाइ भेटघाट,मिनिपर्टी जस्ता सहभागितामा समय बिताउने केही पुरुष दाजुभाइहरूको दैनिकी मज्जाले बदलिएका छन्।यसले परिवार्संग बस्ने,आपसमा सरसहयोगी भावनाको विकास गर्ने,पारिवारिक प्रेम सद्भावलाई बलियो बनाउने अवसर त प्रदान गरेकै छ।यो निरन्तरताले पनि नयाँ वर्षमा पक्कै नयाँपन दिनेछ ।

यो पट्कको नयाँ वर्ष घरभित्रै खुसीहरू खोजौँ।फोन सामाजिक संजालको माध्यमबाट साथीभाइ आफन्तहरुसंग शुभकामना आदानप्रदान गरौँ । सम्भावित उत्पादनशील र सिर्जनात्मक काॠ गरौँ । हांसीखुशी परिवारसँग समय बिताऔँ । परिवारमा।ससाना कामहरू मिलेर गर्दै जे छ बाडीचुंडी खाऊँ। समुदायमा हामीजस्तै अन्य नागरिक भोकै भए सकेको सहयोग गर्दै सम्बन्धित निकायमा खबर गरौँ।सुख दुख साटासाट गरौँ।यी क्रियाकलाप हाम्रा लागि झन् नयाँ र सिर्जनात्मक हुने छन् । हाम्रा घरभित्र पनि अनेकौँ नवीन लयहरू छन् ।हृदयलाई शीतल बनाउने सुन्दर संगीतहरु छन् । महसुस गर्न सके हामीभित्रै इन्द्रेणी रङ्गहरु छन् ।

अहिलेसम्म पनि हामीले नदेखेका कहिल्यै अनुभव नगरेका अनेकन खुसीहरू लुकिबसेका छन् घरभित्र।यिनलाई खोजौँ । अर्को कुरा हाम्रा साझा समझदारीहरूले विगतमा सम्पादन हुन बाँकी सम्बन्धका परिच्छेदहरू सम्पादन गर्ने समय अनि बेमेल र असमझदारीहरू करेक्सन गर्ने अवसर पनि हो । यो अवस्थामा घरमा पारिवारिक दायित्व नबुझ्नु मन विचारहरू बाझ्नु,,मानव स्वास्थ्यको लागि हानिकारक हो । अहिले हामीलाई प्रेम,सहयोग सद्भाव र विश्वासबाट प्राप्त शक्ति र ऊर्जाको आवश्यक छ ।

यही ऊर्जाको माध्यमबाट हाम्रो रोग प्रतिरोधात्मक शक्ति बढाउनु छ।अहिले हामीलाई पर्याप्त आत्मबलको खाँचो छ।आत्मबलले पनि इम्युनिटी पावर वृद्धि गर्छ । विज्ञान जगतले नै विश्वास र पुष्टि नै गरेको छ कि,हामीभित्रको सन्तुष्टि र खुसीले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । हर्बटले भनेका छन् -स्वतन्त्रता भनेको एउटा खुल्ला झ्याल हो,जहाँबाट आएको सूर्यको प्रकाशले मानिसको आत्मा र मर्यादालाई जीवित बनाइरहन्छ।वास्तवमा आत्मा र मर्यादा जीवित हुनु भनेको व्यक्ति पूर्ण हुनु हो।यो पूर्णताले जीवन सृजनशील बनोस् । यो समय सामाजिक सांस्कृतिक क्षेत्रमा अग्रसर भई काम गर्ने नयाँ जाँगर उत्साह र प्रेरणा मिलोस् नयाँ वर्षको शुभकामना ।

( लेखक बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुली (तारा) )

प्रतिक्रिया दिनुहोस्