उपमेयर कविको लकडाउन दिनचर्या


ढाका कुमारी पराजुली (तारा ) – लकडाउनका कारण गृहभूगोल बाहिर भौतिक सम्बन्ध रोकिए पनि इन्टरनेट,फेसबुक,वाट्सप ट्‍वीटर,रेडियो टेलिभिजन आदिबाट सूचना र जानकारीहरू प्राप्त गरिरहेकी छु। प्राप्त भएजति सबै प्रकारका उपयोगी र नीतिगत विषयहरूसँग निरन्तर अद्यावधिक सुसूचित भइरहेकै छु।

जनस्वास्थ्य विज्ञ एवम् प्रसिद्ध कथाकार रबिन्द्र समीरद्वारा लिखित कोरोना विशेष लेखहरू नछुटाई पढ्ने गरेको छु। नगरभित्र हरेक दिन जसो आवश्यकता अनुसार जुनसुकै समयमा पनि सबै ठाउँमा पुग्नुपर्छ पुगेकै छु।समय स्थान परिवेश अनुसार आफ्नो भूमिका निर्वाह गरिरहेकी छु।

हामी यस बेला विचित्रको समय बाँचिरहेका छौँ।यो विचित्रासंगै व्यस्तता पनि भिन्न शैलीमा बढिरहेको छ।उल्टो त्रिभुजकार शैलीमा बढेको यो व्यस्तता परिस्थितिको माग र चुनौतीसँग लड्ने अस्त्र पनि हो भन्ने मैले बुझेको छु।यस बेला अधिकतम विवेक र धैर्यताले मात्र फलदायी निकास प्राप्त गर्न सक्छ भन्ने आत्मविश्वास सहित काम गरिरहेकी छु।

लकडाउनले सामान्य दिनचर्या पूर्णत:पृथक बनाइदिएको छ। उक्त पृथकताले मानवीय मनोविज्ञानमा समेत हलचल र तरंग ल्याइदिएको छ। हिजो भिडभाड हुने हतारको राजमार्ग आज फुर्सदिलो र सुनसान सुनसान छ।हिजोका थुप्रै सपना किन्ने र बेच्ने हांटबजारहरु आज केवल सर्वस्व गुमाएको मनुवा झैँ एकोहोरो केही छोडिए जस्तो, केही गुमे गुमाएजस्तो अनि केही पर्खिए जस्तो टहराभित्र गहिरो चिन्तनमा अभ्यस्त छन् ।

घ्यार्‍र घ्यार्‍र आवाज उराल्दै मैलो धुवा फाल्दै गुड्ने मल्टिकलर गाडीहरू,मालवाहक,मोटरसाइकल,ट्रक लगायतका आवाज एकाध मात्रै सुनिन्छ यहाँ। यस्तै यस्तै शून्य धुन र मौन लयहरू यहाँका दैनिकी बनिसके।लकडाउन पालना गर्दै आफू पनि सुरक्षित रहन हातमा ग्लवस,आँखामा अलि ठुलो आकारको चस्मा,मुखमा माक्र्स र हातमा स्यानिटाइजर प्रयोग गरेर हरेक दिन कार्यालयको काममा निस्कन्छु।

हाइवेमा ओहोरदोहोर गर्दा हरेक दिन हेर्ने गर्छु;बेलबारीको परिचय बोकेको बेतना सिमसार। जहाँ दैनिक हजारौँ मान्छेको उपस्थिति र चहलपहल हुन्थ्यो। अहिले एकल शान्त,उज्यालो र चुपचाप शून्यता बाहेक कोही हिँड्दैन यो उल्लासको बगैँचामा। नांच्नैपर्ने भएर होला नाचिरहेका छन् पोखरीभित्र बिस्तारै कछुवाहरू। विनादर्शक विनानिर्णायक जित्नकै लागि माछाहरू कुनै बेनाम खेल खेलिरहेका छन् । बिथोलेर चुपचापको आयतन। यस बेला म आफैलाई पनि चराहरू अलि भिन्न लयमा चिर्बिराउन थालेको महसुस भएको छ, ओरालै बगेपनि पानीको बगाइ र गति बदलिएको छ।

मन्दिर एक्लै मूर्ति एक्लै एकाकी धुनमा मलिन ध्वनि छाडेर घरीघरी घण्ट बजेको आवाज कमै सुनिन्छ अचेल। बास्नामय धूपबाट एकाएक सुवास अलप भएको छ।फूलको बस्ती फिक्का फिक्का रङ पोतिए झैँ लाग्छ। यी सबै फेरिएका विविधताले घेरिएको थिचिएको भान नभएको होइन। त्यतिकै पनि व्यस्त दैनिकी बिसौँ गुणा व्यस्तता थपिएको छ। म मात्र होइन यस बेला अधिकांश जनप्रतिनिधिहरू अति व्यस्त हुनुहुन्छ।

मलाई लकडाउनमा थोरै समय पनि होम क्वारेन्टाइन बसेको खास अनुभव छैन। लकडाउन सुरु भएपछि मर्निङवाक गएको छुइनं। आधा घण्टा जति घरभित्रै सामान्य एक्सरसाइज गर्छु। शाकाहारी भएको कारण बाध्यात्मक परिस्थिति बाहेक अरुबेला पनि सकेसम्म घरकै खाना खान्छु। अहिले चाहिँ बिहान ८ बजे नै खाना खाएर मात्र घरबाट निस्कन्छु। दिनभर काममै व्यस्त हुन्छु। हतारका संस्करणहरूमा फरक सन्दर्भका नवीन पेजहरू थपिएका थपियै छन्।

यो विषम परिस्थितिसँग सामना गर्न धेरै समय कार्यालयका ससाना मिटिङ बैठक सरसल्लाह र कार्यान्वयनमै बित्छ।बाँकी समय नगरवासीहरूको स्वास्थ्यवस्था बुझ्ने,वडाका जनप्रतिनिधि साथीहरूबाट कहिले भेटेर कहिले फोन सम्पर्कबाट नागरिकहरूको जीवन रक्षा सम्बन्धी व्यवस्थापनका विधि खोज्ने, खाद्यान्न समस्या पहिचान र उपलब्धता बारे निरन्तर सम्पर्कमा हुन्छु। सकेसम्म आवश्यकता अनुरूप प्रत्यक्ष उपस्थित हुने गरेको छु।

स्वास्थ्यकर्मी साथीहरूसँग निरन्तर बिरामीहरूको जानकारी लिने आवश्यक परे घरघरमा पुग्ने,सुरक्षा अवस्थासँग जोडिएका समस्याहरू हल गर्न सुरक्षाकर्मी साथीहरूसँग दैनिक सम्पर्क र समन्वय गर्ने,ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिआउने नागरिकहरूलाई खाद्यान्न उपलब्ध गराउने,नेपाल बाहिरबाट आउने नागरिकहरूको पहिचान र निगरानीलाई विशेष ध्यान दिने।अवस्था अनुसार कतै होम क्वारेन्टाइन र सरकारले सञ्चालनमा ल्याएका क्वारेन्टाइनहरूमा पुर्‍याउने, निगरानी गर्ने कार्य निरन्तरताभित्रै पर्छन्।

सङ्कटको बेला बजारहरूलाई उपभोक्ता मैत्री बनाउन अनुगमन नियमनलाई निरन्तरता दिने,कृत्रिम अभाव र कालोबजारीबाट मुक्त बनाउन खबरदारी र सचेत गराउने,महामारीसँग जुध्न र सङ्कट समाधान गर्न नागरिक समाज,संघसंस्था राजनैतिक दलका प्रतिनिधिहरू लगायत सबैलाई भौतिक,नैतिक, आर्थिक लगायत सबै प्रकारको सहयोगका निम्ति समय समयमा अनुरोध आग्रह गर्छु। जनताका काममै सम्पूर्ण समय बित्छ।घर परिवारसँग दिनमा खास भेट् हुँदैन।बेलुकाको समय खानापछि एक छिन पारिवारिक कुराकानी र ताजा विषयहरू सेयर गरेर बिताउँछु।

चैत्र महिना हिउँदे धान लगाउने समय हो।खाद्यान्न अभाव लम्बिने आशङ्काले गाउँतिर मान्छेहरू सामाजिक दुरीलाई ख्याल गरेर भए पनि खेतबारीमै व्यस्त छन्।यो दृश्य हेर्दा हामी लकडाउन भोगिरहेछौँ जस्तो नलागेपनि बजार एरिया प्रवेश गरेपछि शून्यताले मेरो मनोविज्ञानमा भयानक प्रहार गर्छ,खाली र रित्तो सडकले मन शरीर बेस्सरी पोल्छ,जताततै देखिने बन्द सटरहरूले शीघ्र निकास सहितको निर्णय कुरीबसेको मौन भाषा सजिलै बुझ्न सकिन्छ।

अहिले पनि म आफू भने अधिकतम समय जनताको घर आँगनमै बित्छ।यसो हुँदा फुर्सदमा पढ्ने १७ थान किताबहरू मैले बनाएको सूचिभित्र भएर पनि अध्ययनको समय नमिलेर एउटा किताब पनि पढेर सिद्ध्याउने फुर्सद मिलेको छैन।यो बिचमा लेखक नारायण ढकालको `वृषभ बध´१३७ पेजसम्म पढेर थन्क्याएको छु।पुस्तककी `दिलमाया´सर्वत्र तिरस्कृत हुँदासम्म फिराद सुनुवाइ नभएको प्रसङ्ग कौतूहल भित्रै छ।म एउटा लेखक जनप्रतिनिधि भएपछि प्राथमिकताका हिसाबले पहिलो प्राथमिकता जनताको काम नै हो भन्ने मैले बुझेको छु।तसर्थ दिनको १५/१६ घण्टा प्रत्यक्ष जनतासँगै हुन्छु।बाँकी समय नगरवासीहरुले फोनमार्फत आकस्मिक अप्ठ्यारो सुनाउनुहुन्छ।केही अप्ठ्यारोको समाधान बिहान बेलुका फोन मार्फत पनि गर्छु।

नेल्सन मन्डेलाले भनेका छन्: ‘साहसी व्यक्ति भनेको त्यो होइन,जो डराउँदै डराउँदैन । साहसी व्यक्ति त त्यो हो, जसले आफ्नो आत्मविश्वासले जस्तोसुकै डरलाई पनि सजिलैसँग जित्न सक्छ।’वास्तवमा यो समय उच्च आत्मबलले काम गर्ने समय हो। यस बेला नेतृत्व सफल असफल प्राप्ताङ्क जाँच्ने समय पनि हो भन्ने मलाई लाग्छ। नेपालमा अहिलेसम्म करिब ३३ सय व्यक्तिमा कोरोना परीक्षण गर्दा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोरोना सङ्क्रमित ९ मध्ये ८ जनाको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाइएको छ ।

१ जना भने दुई महिना अगाडि नै निको भइसकेको तथ्यले हाल उच्च सतर्कता नै एन्टिबायोटिक हो भन्ने विश्वास जागृत भएको छ । यस्तो बेला स्थानीय सरकारमा हुनुपर्ने गाम्भीर्यताको अभाव जनतालाई नहोस् भनेर सही समयमा सही निर्णयको नीति कार्यान्वयन भइरहेको छ। स्रोत साधनको अभाव र अन्योलको स्थितिका कारण हुने झमेला र थप सङ्कट हुन नदिन सचेतता पूर्वक हाम्रा अभियान चलेका छन् । सरकार आपतको बेला चाहिन्छ।अप्ठ्यारोमा स्थानीय सरकार र जनप्रतिनिधिहरू अभिभावक छन् भन्ने विश्वास नागरिकमा टुट्न नदिन जनताले महसुस गर्ने गरी नगरवासीको काममै तल्लीन छु।

यस्तो परिस्थितिमा म एउटा लेखक भएको नाताले लेख्नै पर्ने विषयको खात निकै अग्लो छ अझै अग्लिंदैछ।यो बेला यति महत्त्वपूर्ण सवालहरू नलेखेर विषय वस्तुलाई ठुलो अन्याय गरेँ भन्ने कुराले खुब लखेटिरहेको चिमोटिरहेको छ।तर हरेक दिन परिस्थितिजन्य प्रसङ्गहरु टिपोटसम्म गरेर राखेको छु। कुनै दिन यी सबै विषय वस्तुहरूलाई सक्दो न्याय दिनेगरि लेख्ने छु।अन्तमा महासंकटको घडीमा सबै जुटौँ।अहिलेको अधिकतम र साझा प्रयास बाँच्ने र बचाउने हो।साझा प्रयत्नले सहज समय पक्कै आउने छ।

(लेखक बेलबारी नगरपालिकाकी उपमेयर – ढाका कुमारी पराजुली )

प्रतिक्रिया दिनुहोस्