आर्थिक अभावमा उपचार नपाएका १२ वर्ष थला परेका बिरामीको डा.शर्माद्वारा उद्धार


विराटनगर, १ वैशाख । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उपचार गर्ने पैसा नभएर १२ वर्ष अघिदेखि थला परेका बिरामीलाई झापाबाट उद्धार गरेका छन् । झापाको बुद्ध शान्ति गाउँपालिका–४ जुनेली बस्तीका ३१ वर्षीय हस्तबहादुर दर्जीलाई सोमबार उद्धार गरेर उपचारका लागि नोबेल अस्पताल ल्याइएको हो ।

२०६४ सालमा रुखबाट लडेर मेरुदण्ड भाँचिएपछि दर्जीको कम्मर भन्दा मुनिको भाग चल्न छोडेकाले उनी थला परेर बसे । ओछ्यानमै दिसा, पिसाब हुँदा पनि उपचार गर्ने पैसा नभएकाले उनी पीडादायी जीवन बिताउन बाध्य थिए । दर्जीले भने–‘उपचार गर्ने पैसा नहुँदा आफ्नो नाममा भएको एक कट्ठा जग्गा पनि मास्नु पर्‍यो । त्यो पैसाले पनि नपुगेपछि केही सिप नलागेर १२ वर्ष अघिदेखि ओछ्यान परेको हुँ ।’

बर्षौ अघिदेखि उठ्न नसकेर सुतिरहँदा उनको शरीरको पछाडिको अधिकांश भागमा घाउ छ । घाउ निस्किने र पाक्ने क्रम चलिरहँदा उनी दुर्गन्धित अवस्थामा थिए । खुट्टा लगायत शरीरका अन्य भागको छाला पनि उक्किन थालिसकेको छ ।

दर्जीको यस्तो पीडादायी अवस्था थाहा पाएपछि बुद्ध शान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले उनको उपचारका लागि पहल गरेका हुन् । अध्यक्ष भुजेलले दर्जीको पीडादायी अवस्था जानकारी गराएपछि डा.शर्माले उनलाई नोबेल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् ।

काँग्रेस महासमिति सदस्यसमेत रहेका डा.शर्माले यसअघि पनि यस्ता सयौँ बिरामीलाई उद्धार गरिसकेका छन् । गरिब, विपन्न तथा उपचार गर्ने पैसा अभावमा तड्पिरहेका बिरामीहरूलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाई समाजसेवालाई निरन्तरता दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्