मोरङको ३ पालिकालाई डा. सुनिल शर्माको रु.३० लाख सहयोग : भ्रम बारे, कानेपोखरीको प्रेस विज्ञप्ति


बेलबारी, मोरङ / कोरोना भाइरस रोकथाम तथा विपद् व्यवस्थापन कोषको लागि नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक डा. सुनिल शर्माले मोरङको ३ पालिकालाई ३० लाख ३६ हजार रुपैयाँ सहयोग गरेको छ ।

बिहीबार बेलबारी नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी बेलबारी, सुन्दरहरैंचा तथा पथरी शनिश्चरे नगरपालिकालाई सो रकम डा.शर्माले हस्तान्तरण गरेका हुन । बेलबारीलाई रु.११ लाख ७५ हजार, सुन्दरहरैंचालाई रु.८ लाख ७५ हजार र पथरी शनिश्चरे नगरपालिकालाई रु.९ लाख ८६ हजारको चेक प्रदान गरेका छन् ।

राहत रकम हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सांसद लोकप्रसाद सङ्रौला लगायत नेका तथा नेकपाका जिल्ला तथा क्षेत्रीयस्तरका नेता तथा कार्यकर्ताको समेत सहभागिता रहेको थियो ।

राहत रकम हस्तान्तरण कार्यक्रममा बोल्दै डा. शर्माले एक रोगको कारण ३९ वर्षको उमेरमा २००८ सालमा हजुरबुवाको ज्यान गएको स्मरण गर्दै कसैले त्यस्तो पिडा नपाउन भनी कामना गरेका छन् । कोरोनाको महामारीबाट मानिस त्रसित भएसँगै खाद्यान्नको अभावमा, महासंकटको बेला सहयोग गर्न पाउँदा परिवारलाई खुसी हुने शर्माले बताएका छन् ।

लकडाउनको कारण खाद्यान्नको अभावमा ज्याला मजदुरी गर्ने परिवारलाई राहत प्रदान गर्न ठुलो सहयोग पुग्ने बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले र सुन्दरहरैचाका प्रमुख शिव ढकाल दुवैले बताए ।

कार्यक्रममा बेलबारी र सुन्दरहरैचा नगरपालिकाका प्रमुखको साथै पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलीप राईले डा. शर्मालाई धन्यवाद प्रकट गरेका छन् । राहत रकम हस्तान्तरण कार्यक्रम सुवेदीको अध्यक्षता सम्पन्न भएको हो ।

कानेपोखरीको प्रेस विज्ञप्ति

कानेपोखरी गाउँपालिकालाई पनि सहयोग रकम प्रदान गर्ने डा. शर्माको तयारी रहेको थियो । तर कानेपोखरी गाउँपालिकाको उक्त कार्यक्रममा कोही पनि प्रतिनिधिको उपस्थिति रहेको थिएन ।

कार्यक्रममा डा. शर्माले कानेपोखरीको जनताको लागि सहयोग गर्न चाहेको रकम गाउँपालिकाले लिन अस्वीकारेको बताए । तर कानेपोखरी गाउँपालिकाले भने रकम लिन अस्वीकार गरेको भन्ने भ्रम भएको जनाएको छ । कानेपोखरी गाउँपालिकाले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सो कुरा जनाएको हो । कानेपोखरी गाउँपालिकाले खोलेको बैँक खातामा डा. शर्माले दिन चाहेको आर्थिक सहयोग जम्मा गरे स्वीकार्य हुने प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रेस विज्ञप्तिमा एन.आइ.सी एसिया बैँक रमाइलो शाखा खाता नं. D3CA0000455752203 को आकस्मिक खाता खोलिसकिएको र उक्त बैँक खातामा स्वदेश तथा विदेशबाट सहयोग रकम जम्मा भइरहेको उल्लेख गरेको छ । सहयोग गर्न चाहनेहरूले जिन्सी सामाग्री र चेक गाउँपालिकाको कार्यालयमा नै आएर हस्तान्तरण गरी रहेको पनि प्रेस विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्