मन्त्रिपरिषद्को बैठक आज बस्दै : कम्तीमा एक साता लकडाउन लम्ब्याउने सरकारको तयारी


काठमाडौँ, २४ चैत । कोरोना भाइरस सङ्क्रमित सङ्ख्या नेपालमा पनि बढेसँगै सरकारले लकडाउनमा अझै कडाइ गर्दै छ । कोरोना सङ्क्रमणको जोखिम अझै बढेर गएको छ भने लकडाउन लम्बिन सक्ने सम्भावना बढेको छ ।

आज सोमबार मन्त्रिपरिषद्को बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । सो बैठकमा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि जारी लकडाउन अवधि र अन्य नियमित विषयमा निर्णय हुने स्रोतले जनाएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको जनाइएको छ ।

सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो ।

गत बिहीबार बसेको समितिको बैठकले पारिवारिक रूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिने गरी केही खुकुलो पार्ने निर्णय गरेको थियो ।
तर, सुदूरपश्चिम प्रदेशमा एक साथ तीन जनामा सङ्क्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लम्ब्याउने तयारी गरेको जनाइएको छ ।

नेपालमा देखिएको कोरोना भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको चिकित्सकहरूले बताएका छन् । यो बेला थप कडाइ गर्न नसकिए कोरोना सङ्क्रमण नियन्त्रण बाहिर जाने सुझाव उनीहरूले दिँदै आएका छन् । सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय यसअघि नै गरिसकेकाले सोही अवधिसम्म लकडाउन कायम राख्ने सरकारले तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्