भारतबाट आएका २२ विदेशी नेपालमा फेला परे


सप्तरी, २३ चैत । नेपालमा भारतबाट आएका २२ विदेशी फेला परेका छन् । सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुँदै भुटाहा पुगेका भारत मुम्बईका १४ जनालाई सुनसरी प्रहरीले फेला पारेको हो ।

प्रहरीले हाल उनीहरूमा कोरोना सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकाले मदरसाभित्रै सुरक्षित रूपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्दै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

त्यसै गरी सुनसरी इटहरी उपमहानगरपालिका–१८ स्थित जतपुर मस्जिदमा आश्रय लिएर बसेका आठ पाकिस्तानी नागरिकलाई स्थानीयवासीको गोप्य सूचनाका आधारमा प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय पकलीले उनीहरूको स्वाब परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको छ ।

स्थानीयवासीले विदेशबाट आउने स्वदेशी तथा विदेशीका बारेमा निगरानी बढाउँदै सूचना सङ्कलन गर्ने क्रममा फेला पारेका मानिसका बारेमा प्रहरीलाई जानकारी गराउने क्रम बढेकाले कोही पनि लुकिछिपी सुनसरीमा बस्न सक्ने अवस्था नरहेको सुनसरी प्रहरीले जनाएको छ ।

पछिल्लो समय सुनसरीको नेपाल–भारत सिमानाकाबाट नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्थाको आयोजनामा भएको तबलिगी जमातको धार्मिक सभाबाट फर्किएकाहरू लुकिछिपी समूहमा प्रवेश गरेर रातिको समयमा एक स्थानबाट अर्को स्थान हुँदै सप्तरीतर्फ र केही सुनसरीमा बस्दै आए पनि उनीहरू रहेको स्थान यकिन हुन नसक्दा कोरोना सङ्क्रमणको खतरा बढेको स्थानीयवासीले बताएका छन् ।

दुई हजार केजी चामल हस्तान्तरण

नेपाली काँग्रेस धरानले शनिवार धरान उपमहानगरपालिकालाई दुई हजार केजी चामल हस्तान्तरण गरेको छ । कोरोना भाइरसको त्राससँगै भएको लकडाउनका बेला गरिब, विपन्न र दैनिक रोजगारी गरेर हात मुख जोड्ने परिवारलाई वितरण गर्नका लागि दुई हजार केजी चामल हस्तान्तरण गरेको काँग्रेस धरानका सचिव श्याम पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्