काठमाडौँ, २२ चैत । नेपालमा कोरोना भाइरस (कोभिड(१९) सङ्क्रमित थप तिन जना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप तिन जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको हो ।
नेपाल भित्रै पहिलो पटक एक देखी अर्को व्यक्ति सङ्क्रमित भएको पनि भेटिएको छ । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष, कैलालीको ३४ वर्षीय एक महिला र भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना भाइरस कोरोनाको सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
३४ वर्षीय एक महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरुषको आफन्त रहेका जनाएको छ । यो सँगै पहिलो पल्ट नेपाल भित्रै अर्को व्यक्तिमा सङ्क्रमण देखिएको हो ।
‘थप तीन जनामा कोरोना सङ्क्रमण भेटिएको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘धनगढीमा उपचार गराइरहेका सङ्क्रमितकी भाउजूलाई सङ्क्रमण भएको हो ।’
यसअघि देखिएको सङ्क्रमण सबै विदेशबाट आएका नेपालीहरू थिए । यो ‘लोकल स्ट्रान्समिसन’ हो, जसलाई कोरोना सङ्क्रमणको दोस्रो चरणमा मानिन्छ । तेस्रो ‘कम्युनिटी ट्रान्समिसन’ हो, जसले महामारीको चरणमा पुर्याउँछ ।
कोरोना सङ्क्रमित ३४ वर्षे पुरुषकी भाउजुलाई कोरोना भाइरसको लक्षण देखिएपछि शनिवार बिहान धनगढी हसनपुरको घरबाटै अस्पताल ल्याइएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताएका छन् ।
सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। हाल उनलाई अस्पतालको आइसोलेसनमा राखिएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ ।
पहिलो कोरोना सङ्क्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् । दोस्रो सङ्क्रमित व्यक्ति काठमाडौँकी १९ वर्षीय युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौँ आएकी थिइन् ।
उनमा चैत १० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । तेस्रो धादिङको, चौथो धनगढीको, पाँचौँ बाग्लुङको र छैठौ पनि बाग्लुङकै ६५ वर्षीय वृृद्धामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।