सिकारी र प्रहरी बिच गोली हानाहान : हतियारसहित ३ जना पक्राउ


सुन्दरहरैचा, मोरङ । सुन्दरहरैचामा प्रहरी र अवैध वन्यजन्तु सिकारी बिच गोली हानाहान भएको छ । स्थानीयको सूचनाको आधारमा गस्तीमा गएको सशस्त्र वन रक्षक तथा सशस्त्र प्रहरीको टोली र अवैध रूपमा बन्दुक सहित वन्यजन्तु सिकार गर्न वन प्रवेश गरेका सिकारी बिच गोली हानाहान भएको हो ।

सुन्दरहरैचा नगरपालिका स्थित लोहन्द्रा केराबारी साझेदारी र सलकपुर सामुदायिक बनको मध्य भागको वन क्षेत्रमा शुक्रवार दिउँसो गोली हानाहान भएको जिल्ला वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताएका छन् ।

स्थानीयले लकडाउनको मौका पारेर काठको तस्करी भइरहेको सूचनाको आधारमा गस्ती गएको सशस्त्र वन रक्षक तथा सशस्त्र प्रहरीका संयुक्त टोलीले केराबारी गाउँपालिका ८ आमजुङ्गीका ३५ वर्षीय गम्बरबहादुर जोगी, २७ वर्षीय किसन कार्की र झापा बुद्धशान्ति ३ का किरण धिमाललाई पक्राउ गरेको प्रमुख घिमिरेले जनाएका छन् ।

सिकारीले आफ्नो बचाउमा ९ राउन्ड गोली चलाएका थिए भने गस्तीका संयुक्त टोलीले जवाफी ७ राउन्ड हवाई फायर गरेको घिमिरे बताएका छन् । घिमिरेका अनुसार अनुमानित २५ जनाको तस्कर समूहमा ३ जना मात्र पक्राउ परेको छ । पक्राउ परेको ३ जनाको साथमा २ नाल भरुवा बन्दुक, २ सय ग्राम बारुद र केही छर्रा बरामद भएको घिमिरेले जनाएको छ ।

घिमिरेका अनुसार पक्राउ परेको ३ जनालाई वन ऐन र हात हतियार खरखजना ऐन कानुनी कारबाही हुने छ ।

प्रतिक्रिया दिनुहोस्