रहेनन् पूर्वका वरिष्ठ साहित्यकार उपेन्द्र पागल


मणिराम दाहाल – सुन्दरहरैंचा / साहित्यकार तथा प्राज्ञ उपेन्द्र पागल बस्नेतको इनरुवा–६ मधेसा स्थित आफ्नै निवासमा बुधवार ७८ वर्षको उमेरमा निधन भएको छ ।

दम, निमोनिया लगायतका कारण श्वासप्रश्वासको समस्याबाट ग्रसित बस्नेत लामो समय देखि बिरामी भएको हुँदा केही महिना देखि उनलाई अक्सिजन दिएर राखिएको थियो । साहित्यकार तथा प्राज्ञ बस्नेतको जन्म १९९९ सालमा सुनसरी जिल्लाको मधेसामा भएको थियो । कलमवीर बहुआयमिक बस्नेतले कलमलाई कविता,गीत कथा,लेख,निबन्ध र समालोचनमा सफलता पूर्वक अघि बढाउँदै मूर्त र अमूर्त धेरै चित्रकलाहरूमा प्रस्तुत गरेका थिए । चित्रकला तर्फ सयौँका रचना ,पुस्तक , पत्रिकाहरूको आवरणमा सुन्दर चित्रहरू सज्जिएका छन् । उनको दश ओटा भन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् भने पाँच ओटा जति प्रकाशोन्मुख छन् ।

धेरै पुस्तक पत्रपत्रिकाहरूको सम्पादन,शिक्षणपेशा तथा सरकारी जागिरमा समेत समय बिताएका बस्नेत अरूको प्रेरणाको स्रोत तथा आफू ओझलमा परेर अरूलाई उठाउन चाहने सरल स्वभाव अनि मिलनसारका नमुना समेत थिए । बस्नेतले घरको कोठा–चोटाका भित्ता खाली नहुने गरी सबैतिर समान पत्रले ढाकिने गरी मोफसलमा रहेर जनस्तरका ५ दर्जन भन्दा बढी सङ्घ संस्थाबाट पुरस्कार,सम्मान तथा कदर पत्रहरू प्राप्त गरेका छन् ।

सुकुना बहूमुखी क्याम्पसको पूर्व उपप्राध्यापक समेत रहेका बस्नेतद्वारा रचना भएका केही गीतहरू रेकड समेत भएका छन् । उनको योगदानको उच्च मुल्याङ्न गदै इनरुवा नपाले भव्य नागरिक अभिनन्दन समेत गरेको थियो । विभिन्न एक दर्जन भन्दा बढी साहित्यिक सङ्घ संस्थाहरूमा संलग्न उनले पिण्डेश्वर महाविद्यालयबाट शास्त्री तथा नेपाली विषयमा स्नातकोत्तर गरेका थिए ।

पछिल्लो पटक उनको उराँव जातिको सांस्कृतिक अध्ययन नामक पुस्तक प्रकाशनको तयारीमा थियो । पागलका श्रीमती र ६ जना छोरीहरू रहेका छन् । सरल,बहूमुखी प्रतिभाका धनी ज्येष्ठ स्रष्टा बस्नेतको निधनले भाषा ,कला र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको सामाजिक सञ्जालमा उनका शुभचिन्तक तथा साहित्य क्षेत्रका स्रष्टाहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्