बेलबारीमा सब्जी बजार बन्द गर्न निर्देशन


केशु विरही –

बेलबारी, मोरङ / मानव बस्ती रहेको स्थानमा तरकारी बजार निर्बाध रूपमा सञ्चालन भइरहँदा, त्यहाँ आउने जाने उपभोक्ताको भिडभाडले कोरोना सङ्क्रमणको सम्भावना बढेको भन्दै स्थानीयबाट व्यापक जनगुनासो आएसँगै बेलबारी नगरपालिकाले बेलबारी १ मा रहेको तरकारी बजार (सव्जीमण्डी) बन्द गर्न निर्देशन दिएको छ ।

पूर्व पश्चिम लोकमार्गसँगै जोडिएको बेलबारी १ मा रहेको, साप्ताहिक हटियाहरू बन्द भएसँगै यो सव्जीबजार मात्र सञ्चालनमा रहेको तर स्थानीयले भिडभाडका कारण कोरोना सङ्क्रमण हुने सम्भावना बढेको भन्दै बजार व्यवस्थापन गर्नु पर्ने माग आएपछि उपप्रमुखको नेतृत्वमा मङ्गलवार गएको अनुगमन टोलीले सब्जी बजार बन्द गर्न निर्देशन दिएको हो ।जताततै कोरोनाको त्रास फैलिरहेको बेलमा जनतामा सङ्क्रमण हुने सम्भावनालाई मध्यनजर गरेर सब्जी बजार बन्द गर्न निर्देशन दिएको बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले बताइन ।

नगर स्तरीय उपभोक्ता हित संरक्षण समितिका संयोजक समेत रहेकी पराजुलीले सब्जी मन्डी बन्द रहे पनि व्यापारीहरूले ठेला वा सफारीमा हालेर बेच्न सक्ने बताइन ।
अनुगमनमा गएका बेलबारी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश जङ्ग कार्कीले आम उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरेर आफूहरूले व्यवसायीहरूलाई सम्झाएर नयाँ विकल्पकारसाथ व्यवसाय सञ्चालन गर्न आग्रह गरेको बताए ।

व्यवसायीले पनि अनुगमन समितिको निर्देशनलाई सहज रूपमा लिएको बताएका छन् । देशमा ५ जना कोरोना सङ्क्रमित भएको पुष्टि भइसकेको वेलामा नगरपालिकाले आफूहरूकै स्वास्थ्यमा चिन्तित भएर गरेको निर्णय मान्ने बताएका छन् ।

लकडाउनको आडमा तरकारीजन्य सामग्रीमा काला बजारी भइरहेको जनगुनासो आए पनि बाहिर आएजस्तो तरकारीमा कालोबजारी नभएको, यदि त्यस्तो देखिएमा नगरपालिकाले आवश्यक कारबाही गर्न तयार रहेको नगरपालिकाले जनाएको छ ।

अनुगमनमा बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदी, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल लक्ष्मीमार्गका प्रतिनिधि तथा संचारकर्मी समेतको सहभागिता रहेको थियो । यस अघि पनि जिल्ला प्रशासन कार्यालय, घरेलु, नापतौल तथा गुण नियन्त्रक लगायतकाले टोलीले समेत बजार अनुगमन गरेको थियो ।

लक डाउनको वेलामा बजार पूर्ण रूपमा बन्द भए पनि अत्यावश्यक खाद्य सामग्रीहरूलाई नियमित रूपमा दुरी कायम गरेर सञ्चालन गर्ने व्यवस्था गरिएको बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताउँछन् ।

https://youtu.be/cJWfKb9znjA

प्रतिक्रिया दिनुहोस्