सुडानमा शान्तिसेना गएका लेफ्टिनेन्ट कर्णेल रिदेश विष्टको निधन


काठमाडौँ, १७ चैत । सुडानमा शान्तिसेना गएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) रिदेश विष्टको निधन भएको छ । संयुक्त राष्ट्रसंघको सुडान मिसनमा खटिरहेका लेफ्टिनेन्ट कर्णेल विष्टको निधन भएको हो।

ललितपुरको सानेपा घर भएका विष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा हृदयाघातबाट निधन भएको नेपाली सेनाको मुख्यालयले जानकारी दिएको छ । विष्ट नौ महिनादेखि सुडान मिसन मुख्यालयमा ‘स्टाफ अफिसर’ का रूपमा खटिएका थिए ।

अहिले उनको शव सुडानकै एक अस्पतालमा राखिएको जनाइएको छ । संयुक्त राष्ट्रसंघले शव हस्तान्तरण गर्न समय बताएका कारण शव नेपाल ल्याउन केही समय पर्खनु पर्ने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताएका छन् ।

मिसन मुख्यालयले भने आइतबार नै संयुक्त राष्ट्र सङ्घको सम्मान दिँदै विष्टलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्