काठमाडौँ, १७ चैत । कोरोना भाइरस संक्रमण आशंकामा उपचारार्थ एक व्यक्तिको ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको छ । अस्पतालको आइसियुमा रहेका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । तर उनको परीक्षणको रिपोर्ट आइनसकेको पनि स्रोतले बताएको छ । उनको आज (सोमबार) दिउँसो ३ बजेसम्ममा परीक्षण रिपोर्ट आउन सक्ने जनाइएको छ ।
अस्पतालमा कोरोनाको आशंकामा तीन जनालाई आइसोलेसनमा राखिएको अस्पतालका निर्देशक प्रा. डा. विष्णु शर्माले जानकारी गराएका छन् । फागुन १४ गते अस्पताल आएका धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ३६ वर्षीय ती बिरामीको ३ बजेतिर रिपोर्ट आएपछि मात्र मृत्युको कारण पुष्टि हुने अस्पतालले जनाएको छ ।
ती बिरामीलाई आइतबार ४ बजे अस्पताल ल्याइएको थियो र उनलाई आईसीयूमा भर्ना गरिएको मृतकका आफन्तले जनाएका छन् । १८ वर्षदेखि भारतीय सेनामा कार्यरत उनलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौँ पठाइएको थियो ।