काठमाडौँ, १७ चैत । कोरोना (कोभिड–१९) भाइरसको महामारीले विश्वमा ३३ हजार ९८४ जनाको ज्यान लिइसकेको छ । सङ्क्रमित सङ्ख्या ७ लाख २२ हजार २८९ जना पुगेको छ ।
विश्वभर पाँच लाख ३५ हजार ७९६ जनाको उपचार भइरहेको छ । विश्वका विभिन्न देशमा अहिलेसम्म डेढ लाखभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित उपचारपछि निको भएका छन् ।
१९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाका कारण सात लाख २० हजार ६६१ मानिस सङ्क्रमित भएकोमा एक लाख ५० हजार ९३९ जना उपचारपछि निको भएका छन् ।
सबैभन्दा धेरै इटलीमा १० हजार ७७९ जनाको ज्यान गएको छ । स्पेनमा पनि ज्यान गुमाउनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । स्पेनमा गएको २४ घण्टामा सबैभन्दा धेरै ८२१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ८०३ पुगेको छ ।
यसै गरी अमेरिकामा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढ्दै गएको छ । अमेरिकामा आइतबार एकै दिन साढे १७ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अमेरिकामा एक लाख ४१ हजार १६९ जनामा कोरोना भएको पुष्टि भएको छ ।