काठमाडौँ, १६ चैत । प्रदेश–२ को जनकपुर र वीरगन्जमा पनि कोरोना सङ्क्रमितको उपचार हुने भएको छ । प्रादेशिक अस्पताल जनकपुर र नेशनल मेडिकल कलेज वीरगन्जमा आज (आइतबार) देखि प्रदेश–२ मा उपचार हुने भएको हो ।
महामारीको रूपमा फैलिइरहेको कोरोना उपचारमा नागरिकको सहज पहुँच बढाउन सरकारले राजधानी बाहिर पनि परीक्षण र उपचारको थप व्यवस्थापन गर्दै उक्त दुई अस्पतालमा उपचार सुरु गर्ने भएको छ । सो जानकारी प्रदेश सरकारले दिएको छ । कोरोना सङ्क्रमितका उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा १० बेड छुट्ट्याइएको अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले जानकारी गराएका छन् ।
कोरोनाको लक्षण देखिएका शङ्कास्पद बिरामीलाई मात्र उपचारका लागि वार्डमा राखिने यादवले जानकारी दिएका छन् ।‘यहाँ कोरोना चेक जाँचको ल्याब छैन । शङ्कास्पद बिरामीको स्वाव लिएर परीक्षण गर्न काठमाडौँ नै पठाउनु पर्छ,’ उनले भने । ‘कोरोना उपचारका लागि हाललाई १० वटा बेड छुट्ट्याएका छौँ, बाँकी व्यवस्थापनको काम पनि गरिरहेका छौँ । उपकरणहरू आउन बाँकी छ ।’
कोरोनाका बिरामीको उपचार सुरु गरे पनि अस्पतालमा अकास्मिक, प्रसूति, ज्वरो, डायलाइसिस लगायतका अतिआवश्यक सेवा सुचारु नै रहने उनले जानकारी दिए । यसअघि कोरोनाको उपचार जानकी मेडिकल शिक्षण अस्पतालको जनकपुरस्थित सिटी हस्पिटलमा हुने निर्णय प्रदेश २ सरकारले गरेको थियो । तर, शिक्षण अस्पतालको व्यवस्थापन पक्ष प्रतिबद्धताबाट पछि हटेपछि जनकपुर प्रादेशिक अस्पतालमा नै उपचार गर्ने व्यवस्था मिलाइएको हो ।
प्रदेश–२ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण कमिटीले शनिवार जनकपुरमै कोरोना सङ्क्रमितको उपचार गर्ने निर्णय गरेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले बताएका छन् ।
प्रदेश–२ मा प्रादेशिक अस्पताल जनकपुरको अलावा पर्साको वीरगन्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा पनि कोरोना उपचारको व्यवस्था मिलाइएको छ ।
‘नेशनल मेडिकल कलेजमा ५० वटा आइसोलेशन बेड तयार गरिएको छ । कोरोनाका शङ्कास्पद बिरामी अथवा पुष्टि भएका बिरामीलाई वीरगन्ज र प्रादेशिक अस्पताल जनकपुरमै आइतबारदेखि उपचार गर्ने व्यवस्था मिलाएका छौँ,’ वरिष्ठ अधिकृत झाले भने । यस्तै पूर्वको सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोनाको परीक्षण हुने भएको छ ।