पाँच मिनेटमा कोरोना परीक्षणको नजिता दिन सक्ने प्रविधि तयार


काठमाडौँ, १६ चैत । कोरोना भाइरस सङ्क्रमण परीक्षण गर्दा छिटो नतिजा दिन सक्ने प्रविधि तयार भएको छ । अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको तयार गरेको हो ।

परीक्षण ढिलो हुँदा विश्व भरि नै कोरोना भाइरसको सङ्क्रमण फैलनु मुख्य कारण हो भन्ने कोरोना प्रभावित देशहरूले निष्कर्ष निकालिरहेको बेला अमेरिकी कम्पनी एबोटले छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको छ । यो प्रविधिले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा दिन सक्ने दाबी गरिएको छ ।

अहिले समग्र विश्वले कोरोना भाइरसको महामारीको सामना गरिरहेको अवस्थामा विकास गरिएको यो प्रविधि आगामी दिनमा भाइरस नियन्त्रणको लागि समेत निकै महत्त्वपूर्ण साबित हुने अपेक्षा छ । यो प्रविधिलाई अमेरिकाको फूट एन्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए) ले अनुमति दिइसकेको छ । आगामी साताबाट दैनिक ५० हजारको दरले यो मेसिन निर्माण सुरु हुन सक्ने बताइएको छ ।

अहिले अमेरिकामा यो यसलाई भाइरस परीक्षणको अनुमति दिइए पनि यसको नतिजा कति प्रतिशत सही छ भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । यो मेसिनले बिरामीमा भाइरसको आरएनए कति छ भन्ने कुराको पहिचान गर्ने भएकाले शरीरमा भाइरसको उपस्थिति कति छ भन्ने कुरा यसले पत्ता लगाउन सक्छ ।

एबोटले अप्रिलमा यो मेसिनबाट ५० लाख मानिसमा कोरोना भाइरसको परीक्षण हुनसक्ने बताएको छ । एफडीएले यसलाई गत मार्च १८ मा अनुमति दिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्