चितवन, १४ चैत । चितवनको भरतपुरमा पनि कोरोनाको उपचार गर्न थालिएको छ । कोरोना सङ्क्रमित बिरामीको उपचारको लागि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्न लामो यात्रा हुने तथा ढिलो नहुने भएकोले चितवनको भरतपुर अस्पतालमा नै उपचार गर्न थालिएको हो ।
लक्षण मात्र देखिएका बिरामीलाई अन्य अस्पतालमा उपचार गराए पनि कोरोना प्रमाणित भएका बिरामीलाई अस्पतालमा पठाउन अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारीले आग्रह गरेका छन् ।
‘अब कोरोना प्रमाणित भएकाहरूको उपचार भरतपुर सरकारी अस्पतालमा हुन्छ । त्यसको सम्पूर्ण व्यवस्था हामीले मिलाएका छौँ,’ उनले भने । कोरोनाका बिरामी उपचारका लागि अस्पतालले हाल रहेका १९ शैंयाको आइसोलेशन वार्डलाई ३० शैंयाको बनाउने भएको छ ।
अस्पतालमा गठित नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको बिहीबार बसेको बैठकले हाल अस्पतालमा सञ्चालनमा रहेको सर्जरी वार्डको क्याबिनमा ११ शैंयाको आइसोलेशन थप गर्ने निर्णय गरेको छ ।
त्यस्तै कोभिड १९ सङ्क्रमितलाई व्यवस्थापन तथा उपचार गर्नका लागि हाल सञ्चालनमा रहेको न्यूरो वार्डलाई आवश्यक उपकरण थप गरी १० शैंयाको सघन उपचार कक्ष सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । उपकरण थप गर्नका लागि अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आग्रह समेत गरेको छ ।
कोरोना सङ्क्रमितहरूको उपचारको तयारी गर्न लागिएको सघन उपचार कक्षमा भेन्टिलेटर आवश्यक रहेकाले १० भेन्टिलेटर र पिपिई उपलब्ध गराई दिन मन्त्रालयलाई अस्पतालले अनुरोध गरेको छ ।
साथै अस्पतालले कोरोना भाइरसका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको पूर्ण बिमा गरिदिन सरकारसँग माग गरेको छ । अस्पतालमा हालसम्म १७ जनाको कोरोना सङ्क्रमण परीक्षण भएको र सबैको नतिजा नेगेटिभ आएको अस्पताल प्रशासनले जानकारी गराएको छ ।