कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २१ हजार भन्दा बढी


काठमाडौँ, १३ चैत ।  प्राणघातक कोरोना (कोभिड–१९) भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २१ हजार दुई सय पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर दुई हजार २९७ जनाको कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गएको छ ।

सबैभन्दा बढी इटालीमा ६८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ ।

कोरोना भाइरसको उदगम देश चीनमा भने ६ जना नयाँ मृतक थपिएका छन् । यससँगै चीनमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार २८७ पुगेको छ । चीनमा सबैभन्दा धेरै ८१ हजार २८५ जना सङ्क्रमित छन् ।

स्पेनमा मृतकको सङ्ख्या आश्चर्यजनक रूपमा बढेको छ । स्पेन धेरै मृत्यु हुने देशहरूको सूचीमा दोस्रो स्थानमा छ । स्पेनमा ३ हजार ६४७ जनाको मृत्यु भएको छ । यो चीनको भन्दा ३ सय ६० ले बढी हो ।

सबैभन्दा धेरै मानिसको मृत्यु भएको देशको सूचीमा भने इटली छ । इटलीमा ७ हजार ५०३ जनाको मृत्यु भएको छ । ५ हजार २१० जना नयाँ सङ्क्रमित थपिएका छन् । अमेरिकामा १० हजार ९४१ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ९ सय ३५ जनाको मृत्यु भएको छ ।

यस्तै इरानमा २७ हजार १७ जनामा सङ्क्रमण भएकोमा दुई हजार ७७ जनाको ज्यान गएको छ भने ९ हजार ६२५ जना स्वस्थ भएका छन् । १५ हजार ३१५ जनाको उपचार चलिरहेको छ ।

अहिले विश्वका १९७ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको अन्तर्राष्ट्रिय पानी जहाजमा गरी तीन लाख ३२ हजार ९०३ जनाको उपचार भइरहेको छ । एक लाख १३ हजार आठ सय ९ जना उपचारपछि स्वस्थ भएका छन् ।

प्रतिक्रिया दिनुहोस्