चीनबाट तीन दिनभित्र औषधि र उपकरण काठमाडौं ल्याउने : मन्त्री ढकाल


काठमाडौँ, १२ चैत । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधि र उपकरण तीन दिनभित्र ल्याउने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् । आज (बुधबार) पत्रकार सम्मेलनमा बोलपत्र (टेन्डर) मार्फत आवश्यक सामग्री तत्काल ल्याउने गरी काम थालिएको जानकारी दिँदै औषधि तथा स्वास्थ्य सामग्री ल्याउने गरी आजै अन्तिम टुङ्गो लगाउने बताएका हुन।

ल्याइएका सामग्रीलाई प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पुर्‍याइने उनले जानकारी दिए । मन्त्रीका अनुसार ती सामग्री पुर्‍याउनका लागि मन्त्रालयले संयोजकमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयसहितको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमार्फत पुर्‍याइने तयारी गरिएको छ ।

उनले सामग्री काठमाडौँ आइपुग्नेसाथ प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पुर्‍याउने बताए ।
मन्त्री ढकालले आजदेखि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमुना परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने गरी व्यवस्था मिलाएको बताए ।

उनले कोभिड–१९ को परीक्षण गर्न सात वटै प्रदेशमा प्रयोगशाला विस्तार गर्ने योजना रहेको उनले सुनाए । यसअघि सरकारले पूर्वमा विराटनगर र पश्चिम नेपालगन्जबाट कोभिड–१९ को नमुना परीक्षण सङ्कलन गरी दिनको एक पटक हवाईजहाजबाट र तीन–चार घण्टा दुरी टाढा रहेका ठाउँबाट नमुना सङ्कलन गरेर एम्बुलेन्सको माध्यमबाट काठमाडौँ ल्याउने गरिएको थियो ।

उनले कतिपय व्यक्तिले लकडाउनले विगतको हडतालजस्तै मानेर निश्चित समय ५ बजेपछि खुल्छ भन्ने भ्रममा नपर्न सबैलाई अनुरोध समेत गरे । ‘यो रोग कुनै समय सीमाभित्र नआउने भन्ने निर्क्योल छैन ।

हामी सबै समयमा सावधान रहनुपर्छ’, उनले भने, ‘खाद्य पदार्थ, औषधीजन्य पदार्थ किन्नका लागि थप व्यवस्थित कसरी बनाउने भन्नेमा हामी विचार गर्दै छौँ । सङ्कट थपिँदै जाँदा, अभाव बढ्दै जाने भएकाले राज्यले त्यसको उपयुक्त निकास दिने ।’

दैनिक उपयोग्य वस्तु सीमित ठाउँमा पुर्‍याउन राति २ देखि ५ बजेसम्म समय तोक्ने हो भने भिडभाडबाट बच्न सकिने उनको भनाइ थियो । औषधि र उपकरण अभाव रहेका ठाउँमा सरकारसँग उपलब्ध गरेको सामग्री पठाउने तयारी गरेको उनको भनाइ छ ।

‘सीमित साधन हामीसँग अहिले पनि सुरक्षित रहेको छ । व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायतका सामग्री हामीले आफैँले पनि उत्पादन गर्न थालेका छौँ’, उनले भने, ‘अब सामग्रीको अभाव नहुने भएकोले आवश्यकता अनुसार अस्पतालमा पठाउँछौँ ।’

कोरोना भाइरसको परीक्षण गर्ने र निर्क्योल गर्नेसम्मको काम टेकु अस्पतालले गर्ने गरी माध्यम अस्पतालको रूपमा राखी त्यहाँबाट पाटन अस्पतालमा बिरामी पठाइने व्यवस्था समेत गरिएको उनले जानकारी दिए । महामारीको युद्धमा सरकार रहेको बताउँदै मन्त्री ढकालको संयोजकत्वमा अनुगमन समिति र सचिवको नेतृत्वमा रहेको कार्य निर्देशित समिति गठन गरिएको जानकारी दिए ।

मन्त्री ढकालले आज पुनः गत चैत ६ गते कतारबाट नेपाल आएका धादिङ निवासी ३२ वर्षीय एक पुरुषमा ‘पोजेटिभ’ भेटिएको जानकारी दिए । उनका अनुसार ती व्यक्ति कतारबाट नेपालाई आई होटेलमा बसेको र मङ्गलबार टेकु अस्पतालमा भर्ना भई परीक्षणका क्रममा पोजेटिभ देखिएको हो । उनले बिरामीसँग बसेका र सँगै आएकाको खोजतलास गरी क्वारेन्टाइनमा राखेर परीक्षण गराउन आफूहरू जुटेको बताए ।

प्रतिक्रिया दिनुहोस्